सन्दर्भ : ८६औँ जन्मजयन्ती

|

काठमाडौँ : नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन,  संगीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए। उक्त सपना अहिलेसम्म पूरा हुन सकेन।

उनको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घच्याइरहेका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा आज योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन् अम्बर गुरुङ। आजको कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकोमा सहभागीहरुले चिन्ता प्रकट गरेका छन्।

गुरुङसँग १५ वर्ष काम गरेका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरु केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन्।

उनले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तरराष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहने व्यक्तिका रुपमा सम्झिए। “नेपालमा पनि गीत, सङ्गीतका धेरै विज्ञहरु हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाईको सोच केही प्रतिशत पूरा हुन्छ”, उनले भने।

विसं १९९४ फागुन १४ गते आजैका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो। उनका हजुरबुवा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए। उनका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाए। उनको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे।

उनले स्मरण गरे, “अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला... ले सम्वेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख...’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ।”

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राईले जीवनको उत्तरार्द्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागि भन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए।

गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा...’ को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे। उनले गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई पनि नभुल्न आग्रह गरे।

“त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइको एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ”, उनले थपे।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउँछिन्।

त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत शिष्यहरुले गीत गाउन लगाएर उनलाई डिप्रेसनबाट बाहिर निकालेको कुरा बिर्सन नहुने बताउँछिन् उनी। त्यो बेला उनलाई धेरैले बिर्सिएको अनुभव पनि उनले सुनाइन्।

पुराना दिग्गज व्यक्तित्वहरुलाई बिर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उनले बताइन्।

शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाइन्।

उनले भनिन्, “आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऊँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ।” 

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्न बजेट माग गरेर मन्त्रालयमा योजना पेश गरेको पनि सुनाइन्।

गुरुङको ८६ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न एकसाथ सबैको पहल जरुरी रहेको औँल्याए।

कार्यक्रममा गायक तथा सङ्गीतकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ...’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरु...’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला...’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए।्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.