|

काठमाडौँ : फागुन १४ गते चितवनमा भएको भनिएको एउटा घटना सामाजिक सञ्जालमा सनसनी भयो। विषय थियो– 'पूर्वयुवराज पारस शाहले चितवनको भरतपुर महानगरपालिका–४ पीपलचोकमा रहेको सनराइज इङ्लिस स्कुलका विद्यार्थी बोकेको स्कुल बसका चालकलाई पेस्तोल देखाए।' 

नेपाल क्रिकेट एसोसिएशन (क्यान) बागमती प्रदेश सदस्य अनिल अधिकारीले फेसबुकमा लामो स्ट्याटस राख्दै भनेका छन्, ‘चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको बसका ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटना....लाई जानकारी गराएको छु।’ उनी त्यस स्कुलका अभिभावक पनि हुन्। 

त्यसपछि घटना सामाजिक सञ्जाल हुँदै मिडियामा छरपष्ट भए। उनको स्ट्याटसपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्को स्ट्याटस राखे, ‘....महोदयले पारस सरकारले चितवनमा विद्यार्थीलाई गोली ताके भनेर हल्ला गरेछन्...।’

अनिल र शाहीले आरोप प्रत्यारोपसहित अर्को थप एक/एक स्ट्याटस फेसबुकमा राखेका छन्। त्यसपछि विषय भाइरल बन्यो। अनि सबैको चासोको विषय बन्यो चितवनको भरतपुर महानगरपालिका–४ पीपलचोकमा रहेको सनराइज इङ्लिस स्कुल। घटनाको वास्तविकता भने अहिलेसम्म कसैले सार्वजनिक गरेको छैन। स्कुलको तर्क आफ्नै छ । प्रहरीको तर्क आफ्नै छ। सामाजिक सञ्जालमा विषय राख्नेको तर्क आफ्नै छ।

जे जस्तै भए पनि स्कुल जस्तो संवेदनशील क्षेत्रको विषय भएपछि अहिले मानिसको मनमा उठेको प्रश्न के छ भने त्यहाँ पेस्तोल ताकिएको हो? पेस्तोल ताक्दा विद्यार्थीहरू तर्सिएका हुन्? पेस्तोल ताकेका भनिएका व्यक्ति पूर्व युवराज पारस शाह हुन्? यदि घटना भएकै हो भने किन कसैलाई पक्राउ गरेर कारबाही गरिएन? कि यो हल्ला मात्रै हो?

के हो त वास्तविकता? 
हामीले पनि ती प्रश्नको उत्तर खोज्ने प्रयास गर्‍यौँ। घटना गत बुधबार फागुन ९ गतेको हो। आज घटना भएको भनिएको ठिक एक हप्ता कटेको छ। त्यसदिन विद्यालय छुट्टी भएपछि सदा झैँ विद्यार्थी लिएर बस गन्तव्यतर्फ लाग्यो।

‘बस बच्चालाई लिएर घर छाड्ने क्रममा जाँदै थियो। बस भरतपुरको गौरीगञ्जस्थित सल्यानी रोडमा टर्निङ लिएर बच्चा झार्दै थियो। त्यो वेला एउटा कार तीव्र गतिमा आइरहेको थियो। पछाडिबाट हर्न बजाइरहेको थियो। बस टर्निङमा भएकाले तत्कालै कारबाट मानिस ओर्लिएर आए। चालकसँग भनाभन भयो। त्यसपछि उसले शरीरबाट पेस्तोलजस्तो वस्तु देखायो र फेरि आफ्नो गन्तव्यतर्फ गयो’, चालकले भनेको कुरा उद्धृत गर्दै स्कुलका प्रिन्सिपल शिवकुमार बगालेले थाहाखबरसँगको कुराकानीमा घटना विवरण खुलाए। उनले यो घटना कुनै योजनाबद्ध रूपमा नभएको पनि जिकिर गरे।

चालकलाई कालो रङको गाडी भएको मात्रै थाहा छ, अरू तथ्य चालकसँग छैन। उनका अनुसार सोधपुछका क्रममा चालकले भनेका छन्, ‘मैले कोही पनि मान्छे चिन्दिनँ सर, शरीरबाट पेस्तोलजस्तो वस्तु निकालेर देखायो र ऊ गइहाल्यो, मैले फोटो खिच्न पनि भ्याइनँ।’ बगालेले २ मिनेटको अन्तरालमा सब घटना भएको आफूले पाएको सुनाए।

प्रिन्सिपल बगाले यो घटना कुनै विगतमा सम्बन्ध भएको विषय पनि नभएको जिकिर गर्छन्। ‘इन्टेन्शन हो जस्तो पनि छैन, योजनाबद्ध हिसाबले भएको पनि होइन। बाटोमा हिँड्दा खेरी संयोग भएको हो भनेर हामीले अभिभावकलाई पनि भनेका छौँ”, बगालेले भने। 

उनले एउटा मान्छेले अभद्रता देखायो, बाटो अवरोध हुँदा त्यो तर्साउनलाई गरेको होला भन्ने भएर स्कुलले ठूलो रूपमा नलिएको र करिबकरिब घटना सेलाइसकेको बताए तर दुई दिनअघि एकजना अभिभावकले स्ट्याटस राखेपछि भने घटनाले अर्कै रूप लिएको उनले सुनाए।

विषय मिडियामा पनि आयो, त्यसको भोलिपल्ट सादा पोशाकमा स्कुलमा प्रहरी पुगे। घटना विवरण बुझे। चितनवको गीतानगरबाट प्रहरी त्यहाँ गएको थियो।

प्रिन्सिपलसँग प्रहरीले भने, ‘घटनामा शंका छ भने किटानी जाहेरी दिनुस्, नत्र हामी आफ्नो ढङ्गबाट अनुसन्धान गर्छौँ।’
चालकले मान्छे चिनेको छैन, गाडी नम्बर छैन, घटना नियोजित पनि लागेको छैन अनि बाटोमा हिँड्दा संयोगका घटना हुन्छन् भन्ने भएपछि किटानी जाहेरी नदिएको बगालेले बताए। ‘प्रहरीले आफ्नो काम पक्कै गर्‍यो होला भन्ने लाग्छ’, बगालेले थपे।

अहिले भने विद्यालयका शिक्षक तथा चालकलाई तारन्तार फोन आइरहेकाले थप मानसिक तनाव बढेको उनले गुनासो गरे। एक हप्ताअघिको घटना खासै ठूलो जस्तो नलागेर हराइसकेको अवस्थामा एकाएक भाइरल भइदिँदा जवाफ दिएर साध्य नभएको उनले सुनाए।

अहिले फोन आउँदा हामीलाई अरू केही थाहा छैन, व्यक्तिको हवाला दिएर हामीलाई केही पनि नभन्नुहोला, जे बुझ्नुहुन्छ प्रहरीसँग बुझ्नुस् भनेर भन्ने गरेको उनले सुनाए।
 
उनी अनुरोधका साथ भन्छन्, ‘यही विषयलाई मसला बनाएर गेम खेल्ने काम नगरिदिनुस्। अहिले चाहिँ हामीलाई तनाव भइरहेको छ । म्यासेज सर्कुलरले समस्या भयो । हामीमाथि टेकेर कसैले राजनीतिक नगरोस्। विद्यार्थीका सिकाइका कुरा मात्र बाहिर जाओस्।’

उनले बाहिर आएजस्तो स्कुल डरायो, विद्यार्थी त्रासमा रहेका भनेर जुन कुरा आइरहेको छ‚ त्यो सत्य नभएको पनि बताए। बाहिर आएका समाचार भ्रामक भएको बताउने बगाले थप्छन्, ‘घटनालाई हामी डराएर लुकाएको भन्ने कुरा भने होइन, यसो गरे‚ उसो गरे भनेर आइरहेको छ, त्यो होइन।’ 

घटना बाहिर ल्याउने अनिल अधिकारी के भन्छन्?

शुरुमा घटना भएको भनेर विषय बाहिर ल्याउने अनिल अधिकारी थाहाखबरसँग भन्छन्, ‘आफूले बाहिर आएको कुरा लेखेको हो, बच्चा ड्राइभरहरूले भनेका छन्, मलाई कुनै स्क्याण्डल मच्चाउनु छैन, यत्रो घटना मच्चाउने तर केही थाहा छैन भन्नु त गलत भयो नि!’ 

उनले थपे, ‘ल पारस शाह होइन रहेछन् भने, त्यो मान्छे को हो त? बाहिर ल्याउनुपर्‍यो नि प्रहरीले? गाउँलेले पनि देखेका छन्, १०-१५ मिनेट सबै आत्तिएर भागेका छन्, घटना घटेको छ।’ 

उनले घटना सार्वजनिक भएपछि सिसी टिभी हेरेरै भए पनि अनुसन्धान गरेर यथार्थ दिनुपर्ने प्रहरीको कर्तव्य भएको बताए।

चितवन प्रहरी के भन्छ?

त्यस विषयमा थाहाखबरले चितवन प्रहरीसँग पनि कुराकानी गर्‍यो। चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रीराम भण्डारी उक्त स्कुलको विषयमा कुनै पनि जानकारी वा सूचना नरहेको र प्रहरीको कुनै युनिटमा पनि रिपोर्टिङ नभएको बताउँछन्।

डिएसपी भण्डारीले भने, ‘मैले पनि अनलाइनतिर देखेँ। प्रहरीमा उजुरी छ कि भनेर बुझेँ। कतै रिपोर्टिङमा पनि छैन। गीतानगरबाट प्रहरी निरीक्षक बुझ्न जानु भएको थियो तर केही जानकारीमा आएन।’ 

स्कुलभित्र वा बच्चा भएको समयमा कुनै घटना नभएको दावी गर्दै भण्डारीले भने, ‘अघिपछिको घटना भएको भए पनि कुनै रिपोर्टिङ छैन।’

उक्त घटनाले एक दशक अघिको रुवेल काण्डलाई सम्झाएको छ। त्यसबेला पूर्वयुवराज पारस शाहले चितवन निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा रुवेल चौधरीसँगको विवादमा गोली पड्काएका थिए। घटना २०६७ मंसिर २५ मा भएको थियो। पछि सार्वजनिक अपराधमा मुद्दा नै परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.