|

काठमाडौँ : केही वर्षयता नेपालमा क्षयरोगीको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांकले देशभर ३७ हजार ४५० जना क्षयरोगी पत्ता लागेर उपचारको पहुँचमा आएको देखिए पनि अहिलेकै अवस्थामा वार्षिक ६९ हजार क्षयरोगी थपिने अनुमान गरिएको छ।

क्षयरोगी उपचारको दायरामा नआउँदा सरकारले तय गरेको लक्ष्य पूरा गर्न चुनौती थपिएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार सरकारले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्न र सन् २०५० सम्म प्रति १० लाख जनसङ्ख्यामा क्षयरोगीको संख्या १ जना वा सोभन्दा कममा झारेर क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ।

धुम्रपान‚ कुपोषण, नसर्ने रोग जस्तै मधुमेह, एचआईभी, अत्यधिक मद्यपान नियन्त्रण गर्न नसकुन्जेलसम्म क्षयरोग उन्मूलन गर्न चुनौती नै रहने निर्देशक डा श्रेष्ठको भनाइ छ।

‘समयमा नै पत्ता लागेर औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ। हाम्रोमा क्षयरोग उपचारको सफलता दर ९० प्रतिशतसम्म छ तर धेरै विरामी संम्पर्कमा नै आउँदै आउनुहुन्न‚’ उनले भने।

क्षयरोगका ५४ प्रतिशत बिरामीले वर्षमा वार्षिक आम्दानीको २० प्रतिशतभन्दा बढी रकम क्षयरोगको उपचारको लागि खर्च गर्ने गरेको अध्ययनले देखाएको छ। यसले पनि बिरामी उपचारको दायरामा आउन नसकेको डा. श्रेष्ठको भनाइ छ। सरकारले क्षयरोगको निदान र उपचार निःशुल्क गर्दै आएको छ।

मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको पनि क्षयरोगमुक्त नेपालको अभियान सबै स्थानीय तहमा तीव्र गतिमा कार्यक्रम लैजानुपर्ने आवश्यक रहेको भनाइ छ।

‘धेरैजसो क्षयरोगी युवा उमेर समूहका रहेको देखिन्छ (१५ देखि ४५ वर्ष) जुन राम्रो होइन। त्यसैले हरेक स्थानीय तहमा तीव्र गतिमा सम्भावित विरामी पत्ता लगाएर उपचारको दायरामा ल्याउन सके संक्रमण फैलनबाट बचाउन सकिन्छ भने हामी लक्ष्य प्राप्ति पनि समयमा नै गर्न सक्छौँ‚’ उनले भने।

यतिमात्रै होइन पछिल्लो समय क्षयरोगी बढ्दै जानुको प्रमुख कारणमा पोषणको कमी रहेको देखिएको छ। अझै जंकफूड धेरै खाने बानीले शरीरमा आवश्यक पोषणको कमी हुँदा पनि क्षयरोगी बढ्दै गएको डा श्रेष्ठको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.