|

काठमाडौँ : नयाँ गठबन्धन निर्माणपछि बुधवार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयको कार्यक्रम सकिएलगत्तै सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समय दिए। 

सुरुमा विभिन्न समयमा सदनमा उठेका प्रश्नको जवाफ दिएपछि उनले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग जोडिनुका कारणहरू सुनाए, त्यही अपेक्षा सदनले पनि गरिरहेको थियो।   

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुको कुनै खास कारण खुलाउलान् भन्ने अपेक्षा सांसदहरूको थियो तर उनले त्यस्तो कुनै नयाँ कुरा सुनाएनन्। 

उही कांग्रेसबाट पटक–पटक कोशीमा भएको अन्तर्घात, जनयुद्धको अपमान र कांग्रेसमा संविधानविरोधी हिन्दु राष्ट्रको मत बलियो बन्दै गएको विषय राखे, जुन यसअघि नै विभिन्न संचारमाध्यमले केलाइसकेका थिए। कांग्रेसका मन्त्रीहरूबाट आफूलाई असहयोग भएको विषय पनि पुरानै हो। 

प्रधानमन्त्री प्रचण्डले बोलिसकेपछि कांग्रेसको तर्फबाट प्रमुख सचेतक रमेश लेखकले धारणा राखे। पहिलो दल भएर पनि वाम–लोकतान्त्रिक गठबन्धन तोडिएसँगै प्रतिपक्षमा पुग्नुको छटपटी नेता लेखकमा स्पष्ट देखिन्थ्यो। 

राजनीतिक सम्बन्ध जे–जस्तो भए पनि सबैसँग व्यक्तिगत सम्बन्ध सुमधुर रहोस् भन्ने कुरामा सचेत देखिएका उनी बडो सभ्य ढंगले प्रस्तुत भए। 

नेता लेखकले पनि गठबन्धन तोडिएपछि माओवादी र प्रधानमन्त्री प्रचण्डबारे पहिल्यै पार्टीले सार्वजनिक गरेको टिप्पणीका शब्दहरू नै रोमाञ्चक शैलीमा दोहोर्‍याए तर अन्तिममा उनले प्रधानमन्त्री प्रचण्डलाई झस्काउने प्रश्न तेर्स्याए, जसले नयाँ गठबन्धनको भविष्यमाथि शंका गर्ने प्रशस्तै ठाउँ देखाएको छ। 

माओवादी र प्रचण्डबारे विगतमा एमालेले आफ्नो दस्तावेजमा लेखेको वाक्य उल्लेख गर्दै नेता लेखकले भने, ‘एमालेले पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीको इच्छा पूर्ति गर्ने वचनबद्ध नाम हो प्रचण्ड भनेको रहेछ। पछिल्लो समय गठबन्धन भत्किँदा पनि लेखिएको रहेछ माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ। गएको ६ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ।’

यो वाक्य पढिसकेपछि नेता लेखकले एमालेलाई ‘पटक–पटक धोका दिनेसँग किन हात मिलाउनुभयो ?’ नभनेर ‘यसलाई कसरी लिनुभएको छ ?’ भनेर उल्टै प्रधानमन्त्री प्रचण्डलाई सोधे। 

बिहीवार प्रतिनिधिसभामा एमाले उपाध्यक्ष विष्णु पौडेलले राखेका धारणाले ‘एमाले–कांग्रेस मिल्न सक्ने’ विश्लेषणलाई बल पुर्‍याएको छ। गत वर्ष १० पुसमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेर त्यसको तीन महिना नबित्दै कांग्रेसतिरै ढल्किएका प्रचण्डकै शैलीमा एमाले उपाध्यक्ष पौडेल प्रस्तुत भए। 

एमालेप्रति लचिलो देखिएका कांग्रेस नेता लेखकले भोलि त्यही एमालेसँग आफूहरू एक ठाउँमा उभिए कहाँ पुग्नुहोला भनेर प्रचण्डलाई झसङ्ग पार्ने प्रश्न गरे। 

‘उहाँहरूले पटक–पटक धोका भएको भन्नुभएको छ। म त कुन निष्कर्षमा पुगेको छु भने बरु अब धोका पाउन कसैले बाँकी रहेन तर एक चोटी सोच्नुस् त, भोलि एक दिन तपाईँले धोका दिनुभएका सबै एक ठाउँमा उभिए भने तपाईँ कहाँ पुग्नुहोला ?’ 

माओवादी आफूसँगको सहकार्य तोड्ने निष्कर्षमा पुगिसकेको थाहा पाएपछि एकाएक केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेस यसरी एमालेप्रति लचिलो देखिनु र प्रधानमन्त्रीलाई नै झसङ्ग पार्ने यस्तो प्रश्न तेर्स्याउनुले ‘नयाँ गठबन्धनको भविष्य कति होला ?’ भन्ने प्रश्नको वीजारोपण गरेको हो।  

त्यसो त करिब एक वर्षपछि फेरि सत्ताको कुर्सीमा आसिन एमालेले नै नयाँ गठबन्धनको भविष्यमाथि शंका उत्पन्न हुने ठाउँहरू छाडेको छ। नयाँ सत्ता गठबन्धनको प्रमुख घटक भएर पनि एमालेले भागबण्डामा हदैसम्मको लचकता अपनाउनुलाई नै नयाँ गठबन्धनको भविष्यसँग जोडेर हेरिएको छ। 

एमालेले आठ मन्त्रालय लिएको छ, जसमा शक्तिशाली मानिने कुनै पनि मन्त्रालय उसको भागमा परेन। अर्थ र परराष्ट्रमा माओवादी र गृहमा रास्वपाले दावी नछाडेपछि एमाले अन्य मन्त्रालय लिएर सरकारमा गएको छ।   

आफ्नो भागमा परेको मन्त्रालयमा पनि एमालेका शीर्ष नेताहरू सामेल छैनन्। एमालेको १८ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीबाहेक उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ सांसद छन् तर एमालेले सचिव महासेठलाई दलको नेतृत्व गराएर सरकारमा पठाएको छ। 

शक्तिशाली मन्त्रालयमा अडान नलिनु र आफूले पाएको मन्त्रायमा तल्ला तहका नेताहरूलाई मात्रै मौका दिनुलाई कतिपयले एमाले उदार भएको अर्थमा बुझेका छन् भने कतिले कांग्रेस–एमाले मिल्नसक्ने सङ्केतका रुपमा विश्लेषण गरिरहेका छन्। 

बिहीवार प्रतिनिधिसभामा एमाले उपाध्यक्ष विष्णु पौडेलले राखेका धारणाले ‘एमाले–कांग्रेस मिल्न सक्ने’ विश्लेषणलाई बल पुर्‍याएको छ। गत वर्ष १० पुसमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेर त्यसको तीन महिना नबित्दै कांग्रेसतिरै ढल्किएका प्रचण्डकै शैलीमा एमाले उपाध्यक्ष पौडेल प्रस्तुत भए। 

एकवर्ष अघि कांग्रेसँगको भित्री सहमतिपछि प्रधानमन्त्री प्रचण्डले ‘राष्ट्रिय सहमति’ भन्दै राष्ट्रपति कांग्रेसलाई छाड्न एमालेसँग आग्रह गरेका थिए, जब कि प्रचण्ड प्रधानमन्त्री बन्ने वेलै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको थियो।    

एमाले उपाध्यक्ष पौडेलले पनि बिहीवार सदनबाटै कांग्रेसमा धेरै पीडा र छटपटी देखिएको भन्दै मलमपट्टी गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे।

‘कांग्रेसलाई कति गहिरो पीडा रहेछ, कति गहिरो घाउ लागेको रहेछ र चोट लागेको रहेछ भनेर पनि व्यक्त गर्नुभयो’, उनले भने, ‘म त्यो घाउमा मलमपट्टी गर्नका निम्ति राम्रा डाक्टरलाई साथमा लिएर कांग्रेसँग सहकार्य गर्नका निम्ति प्रधानमन्त्री ज्यूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। त्यो मलमपट्टी गर्ने अभियानमा हाम्रो साथ पनि कदाचित उपयोगी भयो भने हामीलाई पनि याद गर्नुहोला।’ 

कांग्रेस प्रमुख सचेतक लेखकको भनाइलाई लिएर नयाँ गठबन्धनका योजनाकार भएर पनि सरकारमा नगई उपाध्यक्ष पौडेलले नै यस्तो आग्रह गर्नुले कांग्रेस–एमाले नजिकिन सक्ने विश्लेषणलाई थप बल पुर्‍याएको छ। 

यसबारे एकीकृत समाजवादी पनि सचेत देखिन्छ। बिहीवार दलका तर्फबाट सदनमा धारणा राख्दै एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमालेको साथमाथि आशंका व्यक्त गरेका छन्। 

‘तपाईँको दायाँबायाँको सहयात्रीले एक महिना, १५ दिन, २० दिन वा ५० दिन कति साथ देलान्/नदेलान् त्यो थाहा भएन तर एकीकृत समाजवादीले तपाईँलाई साथ दिइराख्छन्’, प्रधानमन्त्रीलाई उनले भने, ‘किनभने हामी बदला लिन चाहँदैनौँ। इगो पनि राख्दैनौँ।’

नेता चौधरीले एमालेलाई सँगै राख्न र सँगै रहने कोसिस गर्न प्रधाननमन्त्री प्रचण्डसँग आग्रह गरेका छन्। ‘याद राख्नुहोला, तपाईँ जसको जगमा उभिएर प्रधानमन्त्री बन्नुभएको छ, सरकार बनेको छ ती दलहरूलाई चाहिँ सँगै राख्नुहोला र तपाईँ पनि छाडेर नजानुहोला।’ 

उसो त प्रचण्डसँग जसरी पनि बदला लिन वैकल्पिक गठबन्धन बनाउने दाउ कांग्रेसले हेरिरहेको देखिन्छ। त्यही प्रयासस्वरुप कांग्रेसले एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको छ। 

माओवादीलाई अस्थिरताको पोकाको संज्ञा दिँदै कांग्रेस महामन्त्री गगन थापाले अब यसलाई फुटाउन लाग्ने बताएका छन्। यसका लागि एमालेसँग समझदारी गर्ने उनको अभिव्यक्तिबाट बुझ्न कठिन छैन। 

त्यो प्रयास तत्काल सफल नभए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने वेलासम्ममा भए पनि नयाँ गठबन्धन भत्काएर वैकल्पिक गठबन्धन बनाउने प्रयत्नमा कांग्रेस देखिन्छ।

बुधबार कांग्रेस महामन्त्री थापाले भिडियो सन्देश जारी गर्दै राजनीतिलाई जहिल्यै फोहोर बनाइराख्ने शक्ति भन्दै माओवादीलाई ‘ठिक ठाउँमा पुर्‍याउन’ प्रयास गर्ने बताएका छन्। 

‘महत्वपूर्ण कुरा हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिल्यै च्याँखे थापिराख्ने, यसलाई फोहोर बनाइराख्ने यो शक्तिलाई अब ठिक ठाउँमा पुर्‍याउनै पर्छ’, उनले भनेका छन्, ‘यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने, कसरी समझदारी बढाउने भन्नेतर्फ हामी सचेत छौँ र काम पनि गर्छौँ। अस्थिरताको पोकाहरू अब फुटाउनुपर्छ। यसलाई बोकेर हिँडिराख्नु हुँदैन। यी काम हामी गर्छौँ।’

गठबन्धन फेरि–फेरि सरकारको नेतृत्व गरिरहेको माओवादीले भने नयाँ गठबन्धन फुटाउने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिएको छ। आइतबार प्रतिनिधिसभामा माओवादी सचिव देवेन्द्र पौडेलले बाँकी चार वर्ष निरन्तर एमालेसँगको गठबन्धन चल्ने दावी गरे।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.