|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ।

सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए।​ त्यतिखेर उनलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो।  त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा भने उनले  १७२ मत प्राप्त गरेका थिए।   तेस्रो पटक लिँदा भने यो संख्या थप घट्नेछ। 

यद्यपि विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ। त्यो संख्या सत्ता घटक ५ दलमा पर्याप्त छ। एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ।

हालसम्म प्रधानमन्त्रीलाई १५६ सांसदको समर्थन जुट्ने देखिएको छ। संसद्‌मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ। जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ। 

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन्। गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले विश्वासको मत लिने संवैधानिक समयसीमा भन्दा तीन साताअघि नै सदनमा मत लिन लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.