'साना मुलुकलाई अस्तित्व अक्षुण्ण राख्न चुनौती'

|

काठमाडौँ : नेपाली सेनाले विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भएको बताएको छ। अन्तरराष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरुबीचको ध्रुवीकरण बढ्दै गएको सेनाले उल्लेख गरेको छ । 

प्रधानसेनापति प्रभुराम शर्माले शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती समेत थपिएको बताए।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले नेपालमा सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताए। 

नेपालको सन्दर्भमा संवेदनशील भूराजनीतिक, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा हेरिने गरिएको उनले बताए।

प्रधानसेनापति शर्माले श्रम आप्रवासन, युवाहरूको पलायन, विभिन्न युद्धरत देशहरूका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरू, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धिहरू मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्वपूर्ण विषयहरू भएको बताए।

उनले सूचना प्रविधि एवं आर्टिफिसियल इन्टिलिजेन्समा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उल्लेख गरे।

सैन्य रणनीति र सिद्धान्तलाई पुनःपरिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नवीनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न उत्तिकै जरुरी रहेको प्रधानसेनापति शर्माले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.