|

काठमाडौँ : ‘भोलि नेपाली कांग्रेस र नेकपा एमाले मिले भने तपाईँको हालत के होला ?’ सत्ता समीकरण परिवर्तनपछि कांग्रेस नेताहरूले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सोधेको प्रश्न हो यो। नयाँ समीकरण बनेको तीन दिनपछि २४ फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा पहिलोपटक कांग्रेसले प्रचण्डलाई झस्काउने यो प्रश्न सोधेको थियो। 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका तर्फबाट धारणा राख्दै भनेका थिए, ‘उहाँहरू (एमाले)ले पनि पटक-पटक धोका भएको भन्नुभएको छ। अब धोका पाउन कसैले बाँकी रहेन। एकचोटि सोच्नुस् त, भोलि तपाईँले धोका दिनुभएका सबै एक ठाउँमा उभिए भने तपाईँ कहाँ पुग्नुहोला?’  

प्रमुख प्रतिपक्षी कांग्रेसको उक्त प्रश्नले झस्किएका प्रधानमन्त्री प्रचण्डले ३० फागुनमै विश्वासको मत लिइसकेका छन्। विश्वासको मत लिँदै गरेको दिन पनि कांग्रेसले उनलाई झस्कायो। 

त्यस दिन महामन्त्री विश्वप्रकाश शर्माले ‘कांग्रेस-एमाले मिले तपाईँको हालत के होला?’ भन्ने प्रमुख सचेतक लेखककै प्रश्न दोहोर्‍याए। ‘पोहर विपक्षमा रहेको एमाले आज सत्तापक्षमा छ, हिजो पक्षमा रहेको कांग्रेस आज विपक्षमा छ’, उनको प्रश्न थियो, ‘यसरी पालैपालो विपक्षमा रहेकाहरू, धोका खानेहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला?’

त्यसअघि सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतमा कांग्रेसकै अघिल्ला नेतृत्वले आफूलाई राजनेता भन्ने गरेको सुनाएका थिए। त्यसैसँग जोडेर महामन्त्री शर्माले उनलाई झस्काउने प्रश्न दोहोर्‍याएका हुन्। 

प्रधानमन्त्री प्रचण्डसामु एमालेसँग मिल्न सक्ने चेतावनीपूर्ण प्रश्न मात्र होइन, त्यसका लागि अहिले कांग्रेस वातावरण बनाउन लागिपरेको देखिन्छ। पछिल्लो समय कांग्रेस नेताहरू एमालेप्रति लचिलो बनेका त छन् नै, पालैपाले प्रशंसा गर्न पनि पछि परेका छैनन्। 

चित्त नबुझे आफ्नै दलको सरकारविरुद्ध समेत खह्रो उत्रिने गरेका कांग्रेस महामन्त्री गगन थापाले केही दिन सुन तस्करी प्रकरणलाई लिएर एमालेको प्रशंसा गरे। 

५ चैतको प्रतिनिधिसभा बैठकमा एमालेको प्रशंसा गर्दै गगनले भने, ‘सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छेहरू जोडिएका छन्। त्यसैले प्रहरीको नियमित अनुसन्धानले मात्रै यो छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो।’

उनले थपे, ‘त्यो वेला नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिपक्षीको ठाउँबाट यो विषयलाई जोडदार ढंगले नउठाएको भए आयोग नबन्ने रहेछ। आयोग नबनेको भए सुन काण्ड फासफुस हुनेरहेछ।’

कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले पनि महामन्त्री गगनअघि एमालेको तारिफ गरेका थिए। चैत २ मा प्रतिनिधिसभामै पौडेलले प्रतिपक्षीमा हुँदा एमालेले सुन प्रकरण छानबिनका लागि आयोग बनाउन खेलेको भूमिकाको प्रशंसा गरेका हुन्।  

नेता पौडेलको भनाइ थियो, ‘अर्को नयाँ प्रकरण आएको छ‚ सुन तस्करी। म तत्कालीन प्रतिपक्षी नेकपा एमालेलाई विशेष धन्यवाद दिन चाहन्छु। यस्ता प्रकरणको छानबिन राज्यको संयन्त्रबाट हुन सक्दैन। जाँचबुझ आयोग बनाउनुपर्छ भनेर त्यो वेला प्रतिपक्षीले भनेको थियो। म सत्तारुढ पार्टीको सांसद भएर पनि त्यही कुरा उठाएको थिएँ।’

अहिले कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि समिति बनाउन माग अघि सारेको छ। खासगरी उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई निशाना बनाएर उसले यस्तो अडान राखेको हो। सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको प्रशस्तै प्रमाण रहेकाले उनको राजीनामा नै अन्तिम विकल्प भएको र यसबारे छानबिनका लागि समिति बनाउनैपर्ने कांग्रेसको जोड छ। 

जुनसुकै विषयमा भए पनि कांग्रेस नेताहरूले एमालेलाई सकारात्मक कोणबाट जोड्ने गरेका छन्। महामन्त्री गगन र पौडेलले मात्र नभई ६ चैतको प्रतिनिधिसभामा प्रमुख सचेतक लेखकले पनि एमाले नेताहरूको प्रशंसा गरे। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताउँदै उनले एमाले नेताहरूको उदाहरण सुनाएका हुन्।  

‘माननीय शेरबहादुर तामाङले बोल्दा के कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेपछि राजीनामा दिनुभएको संसद्को इतिहासमा छ। गोकुल बास्कोटाजी अहिले पनि माननीय हुनुहन्छ। उहाँमाथि पनि प्रश्न उठ्दा छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिनुभएको छ। त्यो पनि यसै संसद्को इतिहासमा छ। माननीय विष्णु पौडेलजीले अर्थ विधेयक, विनियोजन विधेयक, बजेट प्रस्तुत गर्दा प्रश्न उठ्यो र छानबिन समिति बनेको इतिहास छ’, नेता लेखकले देहावसान भइसकेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको समेत उदाहरण दिन भ्याए। अर्को एउटा कुरा छ, भरतमोहन अधिकारीले अर्थमन्त्रीका रूपमा बजेट प्रस्तुत गर्दा बजेटमाथि प्रश्न उठ्यो। त्यसवेला छानबिन समिति गठन भएको पनि यही संसद्को इतिहास छ।’ 

यद्यपि लेखकले माओवादी नेता जनार्दन शर्माले पनि बजेट प्रस्तुत गर्दा प्रश्न उठेपछि राजीनामा दिएर छानबिन समिति बनेको विषय छुटाएनन्। उनले पूर्व अर्थमन्त्री रामशरण महतले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएको उल्लेख गर्दै अहिलेका उपप्रधानमन्त्री लामिछानेले पनि राजीनामा दिनुपर्ने अडान दोहोर्‍याए।

​​यसरी कांग्रेसका एकपछि अर्को नेताहरूले पालैपालो एमाले र एमालेका नेताहरूले प्रशंसा गर्नुलाई अर्थपूर्ण मानिएको छ। यसअघि नै भागबन्डामा हदैसम्म लचिलो बनेको, आफूले पाएको मन्त्रालयमा तेस्रो पुस्ताका नेताहरूलाई पठाएकोलगायतका विषयले कांग्रेस-एमाले नजिकिन सक्ने विश्लेषणलाई बल पुर्‍याएको छ।

तर एमाले सचिव पद्मा अर्याल भने यसलाई अस्वीकार गर्छिन्। कांग्रेसको पछिल्लो गतिविधिबारे उनी भन्छिन्, ‘कांग्रेसले उसको ठाउँबाट त्यसो गर्नु स्वाभाविक हो। यसमा कुनै अन्यथा लिनुपर्ने कुरा छैन तर एमाले आफूलाई केन्द्रमा राखेर अहिल्यै फरक खालको निर्णयमा पुग्दैन। हाम्रै प्रयत्नमा भएको समीकरण सफल बनाउन एमाले प्रतिबद्ध छ।’ 

माओवादी सचिव लीलामणि पोखरेल एमालेभित्र कांग्रेससँग मिल्नुपर्छ भन्ने कतिपय मतलाई ‘क्याच’ गर्न कांग्रेस नेताहरू यसरी प्रस्तुत हुँदै आएको विश्लेषण गर्छन्। ‘कांग्रेसले एमालेभित्र पनि कतिपय त्यस्ता कुरा होला, त्यसलाई क्याच गर्ने कोसिस गरेको हो। त्यो सफल हुँदैन’, उनी भन्छन्, ‘किनभने अहिले जुन समीकरण बनेको छ, यो समीकरण एमालेको पनि आवश्यकता हो र माओवादीको पनि।’

उसो त गठबन्धन फेर्ने निष्कर्षमा प्रचण्ड पुगिसकेको थाहा पाएपछि कांग्रेसले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको थियो। सबैभन्दा ठूलो दल भएर पनि एक वर्षभित्रै दोस्रोपटक प्रतिपक्षी बेन्चमा पुगेपछि कांग्रेस माओवादीसँग रुष्ट छ। 

सत्ताका चतुर खेलाडी प्रचण्डका कारण कहिले सत्तारोहण त कहिले सत्ताबाटै बहिर्गमन हुनुपरेपछि कांग्रेस इखिनु अस्वाभाविक होइन। २१ फागुनमा एकाएक एमालेसँग हात मिलाएपछि प्रधानमन्त्री प्रचण्डबाट राजनीतिक बेइमानी भएको निष्कर्ष निकालेको कांग्रेस बदला लिएरै छाड्ने योजनामा देखिन्छ।  

कांग्रेसको उद्देश्य जति सक्यो छिटो वर्तमान सत्ता गठबन्धन भत्काउने नै रहेको विश्लेषण लेखक तथा विश्लेषक सिके लालको छ तर कांग्रेसको यो उद्देश्य तत्काल पूरा भइहाल्ने अवस्था भने नदेखिएको उनी बताउँछन्। 

‘राजनीतिमा प्रमुख प्रतिपक्षले सत्तारुढ गठबन्धनमा खेल्नु उसको स्वाभाविक धर्म हो। त्यो नगरी गठबन्धन टुट्दैन, नटुटेसम्म प्रमुख प्रतिपक्षको पालो आउँदैन। फेरि एमालेसँग पनि कांग्रेसले सत्ता चलाएकै हो। नयाँ कुरा पनि होइन’, विश्लेषक लाल भन्छन्, ‘तर कांग्रेसको यो उद्देश्य तत्कालै पूरा होला भन्ने त लाग्दैन। तैपनि कांग्रेस नेताहरू वातावरण बनाउन लागेका हुन्। वातावरण बनाउँदै लग्यो भने जनतामा स्वीकार्य हुँदै जान्छ र मान्छेले त्यसलाई सामान्य रूपमा लिन्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.