|

विराटनगर : तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुराम  भुजेललाई सार्वजनिक गरेको हो।
गत चैत ७ गते दिउँसो २ः५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा भेटिएको थियो। घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठ र धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो। 

प्रहरीका अनुसार उनीहरूबीच केही वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध थियो। तर, गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन्। सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवादको श्रृङ्खला सुरु भएको थियो। चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मूलघाटमा गएका थिए। त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरी दाबी छ। 

प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए। साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवैजना पुगेको प्रहरीको दाबी छ। ‘घटनास्थलमा निजहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सबिन भन्ने बाबुराम भुजेलले, योजनामुताबिक नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाँटी रेटी मारी खोल्सामा फाली सोही रात भागेको,’ प्रहरीले दाबी गरेको छ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका ९ मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो। भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैँले राखेका थिए। प्रहरीले उनको साथबाट फुटाएको मोबाइलसमेत बरामद गरेको छ। 

पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.