खेलकुद पत्रकारिता सम्मान अजय फुयाललाई

|

काठमाडौँ : बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले सोमवार शंखमूलस्थित यल दरबारमा आयोजना गरेको अवार्डमा दीपक पुरुषतर्फ र सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिए। 

दीपक यसै वर्ष सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका विजेतासमेत हुन्। खेलाडी संघले आयोजना गरेको अवार्डमा पनि दीपक अवार्ड जित्न सफल भए। उनीसँगै एएसबीसी एशियन यू–२२ बक्सिङ च्याम्पियनशिप विजेता सुष्मा सोमवार सम्मानित भएकी हुन्।

दुवैले अवार्डसहित जनही १ लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरे। 

प्रतिभाशाली खेलाडीको पुरस्कार महिलामा पौडीकी डुवाना लामा तथा पुरुषमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पाए। दुवै विजेताले जनही ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे। 

खेलाडी संघले यस संस्करणमा पारा एथलिट सम्मानबाट भारोत्तोलनका दुर्गामान तामाङलाई सम्मान गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अन्जन धमला र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले दुर्गामानलाई १५  हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन्।

गजराज आर्दश खेल व्यक्तित्व सम्मानबाट टेबलटेनिसका पूर्वप्रशिक्षक तथा प्रशिक्षक धर्ममान बज्राचार्य सम्मानित भए। गजराज आदर्श खेल व्यक्तित्व र खेलकुद पत्रकारिता सम्मान विजेता उनले ३५ हजार रुपैयाँ नगद पाए।

खेलाडी संघले यस पटक खेलकुद पत्रकारिता सम्मानबाट खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई सम्मान गरेको छ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष दीपक श्रेष्ठ र केडिया ग्रुपका प्रमुख विमल केडियालगायतले सम्मान गरेका थिए। 

नवौँ राष्ट्रिय खेलकुदमा समावेश कुल ३६ खेलबाट १/१ जना खेलाडीलाई सम्बन्धित संघको सिफारिशका आधारमा वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

३६ खेलमा नै उत्कृष्ट सबैले जनही २० हजार रुपैयाँ नगद पाए। खेलाडी संघले वर्ष २०७९ का उत्कृष्ट खेलाडीमा आर्चरीकी पार्सदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, शारीरिक सुगठनका अशिमबाबु गुरुङ र चेसका रुपेश जैसवाल वर्ष उत्कृष्ट खलाडी भए।

क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, साइक्लिङका सुरज रानामगर, फेन्सिङमा शिक्षा नापित फुटबलमा किरणकुमार लिम्बू, फुलकन्ट्याक करातेमा सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिम्न्यास्टिकमा राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी‚ आईटीएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ, कबड्डीकी अनुजा कुलुङ राई, करातेका विजय श्रेष्ठ, खोखोमा सरस्वती कठायत, लनटेनिसमा सलोनी तामाङ र प्याराग्लाइडिङमा रीता श्रेष्ठ थापा वर्ष उत्कृष्ट खेलाडी घोषित भए।

रग्बीमा निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापामगर, सुटिङमा सुजन रानामगर, सफ्ट टेनिसमा युकेश योञ्जन, पौडीमा डुवाना लामा, टेबल टेनिसमा स्यान्टु श्रेष्ठ, तेक्वान्दोमा काजल श्रेष्ठ, ट्रायथलनमा श्रेबी महर्जन, भलिबलमा रविन चन्द, भारोत्तलनमा जुनमाया छन्त्याल, उसुमा समन गुर्सी र कुस्तीमा सुरेश चुनारा वर्ष खेलाडी चयन भएका छन्। 

कार्यक्रम सञ्चालनका क्रममा आगामी १९औँ र २०औँ संस्करण क्रमशः तार्केश्वर नगरपालिका र बनेपा नगरपालिकामा हुने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.