काठमाडौं : जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको सुरुमै जनमत पार्टीका सांसदका लागि प्रदेश सभाको बैठक बोलाइएको छ।
सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि भएको आक्रमण छानबिनका लागि समिति गठन गर्ने भनिए पनि नगरिएको विषयमा उनले असन्तुष्टि व्यक्त गरे।
यसअघि मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा पनि उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको उनको भनाइ थियो।
उनले यस विषयमा प्रष्ट नभइ संसदको कारबाही अघि बढ्न नसक्ने अडान लिए। त्यसपछि एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले व्यक्तिगत घटनालाई ल्याएर सदन अवरोध गर्न नपाइने भनेपछि जनमतका सांसदहरू नाराबाजीमा उत्रिए।
दुवै पक्षबीच घम्साघम्सीका अवस्था भएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे। तर बैठक अझै सुरु भएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।