|

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। 

गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने नेता सोडारीले बताएका छन्।  

यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, दुवैको दाबी खारेज गर्दै  प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को  दाबी पेस गर्न आज  साँझ ५ बजेसम्म समय दिएका छन्।

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको छ। तर, एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको स्पष्ट निर्देशन नआएसम्म नेता सोडारीलाई समर्थन नगर्ने बताए। उनले भने ‘अध्यक्षज्यूको निर्देशन नआए नेता सोडारीलाई समर्थन गर्दैनौं।’ सुदूरपश्चिममा एमालेका १० सांसद छन्। 

तर एकीकृत समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेपछि सत्ता गठबन्धनमा खटपट देखिएको छ। 

नेता सोडारीले भने दलहरुको संयुक्त बैठक बस्ने र त्यसपछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाने बताएका छन्। त्यहाँ एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पनि विभाजित छन्।

सात सांसद रहेको सुदूरपश्चिममा उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पक्षका सांसदहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भए पनि संरक्षक रेशमलाल चौधरी पक्षका सांसद भने लक्ष्मणकिशोर चौधरीलाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन्। 

सुदूरपश्चिममा प्रदेश प्रमुखले यसअघिको दाबी खारेज गरेको भन्दै अदालत जाने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.