|

काठमाडौँ : कतारका लागि नेपालका राजदूत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन नसकेको बताएका छन्।

नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताएका हुन्। 

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राजदूत ढकालले नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताए। 

उनले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हुने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले सम्झौता हुन नसकेको बताए। 

श्रम सम्झौता नेपाली कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको उनको दावी थियो। उनले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताए। 

उनले नेपालले भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा विस्तार गर्न सकारात्मक रहेकाले पहल र प्रयास गरिने बताए। 

राजदूत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार-नेपालबीच लगानी र सहयोगका ढोकाहरु खुलेको दावी गरे। उनले कतारको राजदूतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने बताए।

उनले मुलुकमा सरकार परिवर्तन भए पनि राजदूत को व्यक्ति भन्दा पनि राजदूतसम्बन्धी स्पष्ट नीति बनाएर पूर्णकालीन रुपमा काम गर्न दिँदामात्र अन्तरराष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताए। 

उनले राजदूतहरुको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।

उनले सरकारले कतारसँग गरेका सम्झौताहरु कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिब एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदूत पनि कम्तिमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दावी गरे। 

उनले यो कुरा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल फिर्ता नबोलाउने विश्वास दिलाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.