|

सुमात्रा : इन्डोनेसियाको एउटा सुमात्रान बाँदर (ओराङउटन) को गालामा ठूलो घाउ थियो तर उसको घाउ निको भयो। राकुस नाम भएको उक्त ओराङउटन घाउको दुखाइ सहेर बसेन, उसले आफैं औषधि बनायो, घाउमा लगायो र एक महिनामै निको भयो। 

ओराङउटनहरू इन्डोनेसिया र मलेसियाका जंगलमा पाइने बाँदरहरू हुन्। वैज्ञानिक नाम पोङ्गो भएका तिनीहरू अहिले बोर्नियो र सुमात्राका केही भागमा  पाइन्छन् तर प्लियोसीन युगको समयमा पूरै दक्षिण पूर्व एशिया र दक्षिण चीनमा भेटिन्थे। जेनस पोङ्गोमा वर्गीकृत ओराङउटनलाई एक प्रजाति मानिन्थ्यो। 

राकुसले बोटबिरुवाको लेप प्रयोग गरी औषधि बनाएको र त्यो लगाएर घाउ निको पारेको वैज्ञानिकहरूले बताएका छन्। जंगलमा कुनै जनावरले औषधिजन्य बिरुवाबाट चोटपटकको उपचार गरेको रेकर्ड गरिएको यो पहिलोपटक हो।

अनुसन्धानकर्ताहरूले राकुसले आफ्नो अनुहारमा बिरुवाको लेप लगाएको देखे, जुन लेप लगाएपछि घाउ भरिएर एक महिनामा निको भयो। वैज्ञानिकहरूका अनुसार यो व्यवहार पूर्वजबाट आएको हुनसक्छ‚ जुन सामान्य मानव र बाँदरबीचमा आदानप्रदान भएको हुनसक्छ। अनुसन्धानको रिपोर्ट वैज्ञानिक जर्नल साइन्टिफिक रिपोर्टस्‌मा प्रकाशन गरिएको छ।

‘उनीहरू हाम्रा नजिकका आफन्तहरू हुन्। ओराङउटनको उपचार पद्धतिले हामी र उनीहरूबीचको समानता इंगित गर्छ, हामी फरकभन्दा पनि धेरै समान छौं’‚ जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युटका जीववैज्ञानिक ​तथा अनुसन्धानका सहलेखिका डा. इसाबेला लाउमरले भनिन्। सन् २०२२ को जुनमा इन्डोनेसियाको गुनुङ ल्युजर राष्ट्रिय निकुञ्जमा रहेको अनुसन्धान टोलीले राकुसको गालामा ठूलो घाउ भएको देख्यो। प्रतिद्वन्द्वी पुरुष ओराङउटनसँग जुधेर ऊ घाइते भएको हुनसक्ने अनुमान गरियो। घाउ हुनुअघि ओराङउटन ठूल्ठूलो आवाज निकालेर चिच्याएको थियो। 

त्यसपछि अनुसन्धान टोलीले राकुसलाई अकार कुनिङ नाम गरेको बिरुवाको डाँठ र पातहरू चपाउँदै गरेको देख्यो। अकार कुनिङ एउटा एन्टि–इन्फ्लामेटरी र एन्टी–ब्याक्टेरियल बिरुवा हो, जुन स्थानीय रूपमा मलेरिया र मधुमेहको उपचारमा पनि प्रयोग गरिन्छ। राकुसले आफ्नो गालामा तरल पदार्थ लगाएर सात मिनेटसम्म राख्यो र त्यसपछि उसले पात चपाएर त्यसको लेप घाउ पूर्णरूपमा नभरिउन्जेल लगायो। उसले उक्त बिरुवा ३० मिनेटभन्दा धेरै समयसम्म खाइरह्यो। 

‘बिरुवाको पात र त्यसको लेपले जादू नै गर्‍यो, संक्रमणको कुनै संकेत देखिएन र पाँच दिनभित्र घाउ पनि भरियो’‚ अनुसन्धानकर्ताहरूले भने‚ ‘एक महिनापछि, राकुस पूर्ण रूपमा निको भयो।’ राकुसलाई आफूले औषधि प्रयोग गरिरहेको थाहा थियो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ। उसले प्रयोग गरेको विशेष खालको यो बिरुवा ओराङउटनहरूले बिरलै खान्छन्।

‘उसले बारम्बार लेप लगायो र पछि बिरुवाको थप ठोस पदार्थ पनि प्रयोग गर्‍यो, खासमा सबै प्रक्रिया लामो समयसम्म चल्यो’‚ डा. लाउमरले भनिन्‚ ‘त्यसैले उसले जानाजानी यसलाई लागू गरेको हो भन्ने हामीलाई लाग्छ।’ अनुसन्धानकर्ताहरूले राकुसलाई सामान्यभन्दा धेरै लामो समयसम्म आधा दिनजति नै आराम गरेको पनि देखे।

ठूला बाँदरहरू आफूलाई निको पार्न औषधि प्रयोग गर्छन् भन्ने वैज्ञानिकहरूले पहिले नै थाहा पाएका थिए। सन् १९६० को दशकमा जीवविज्ञानका ज्ञाता जेन गुडलले चिम्पान्जीहरूको दिशामा पात देखेका थिए, अरूले पनि ठूला बाँदरहरूले औषधिको गुण भएका पातहरू चपाएर निलिरहेको देखेका थिए। तर उनीहरूले जंगली जनावरले घाउमा बिरुवाको रस र लेप लगाएको कहिल्यै देखेका थिएनन्।

‘सम्भवतः यो पहिलोपटक देखिएको हो। राकुसले शुरुमा बिरुवा छोएको हातले झुक्किएर घाउमा छोइएपछि दुखाइ कम भएकाले दोहोर्‍याएर पटक पटक लगाएको हुनसक्छ वा उसले आफ्नो समूहका अन्य ओराङउटनहरूले यो विधि गरेको देखेर सिकेको हुनसक्छ’‚ डा. लाउमरले भने। 

राकुसले देखाएको उपचार विधि अन्य ओराङउटनले पनि अपनाउँछन् कि भनेर अनुसन्धानकर्ताहरू नजिकबाट नियालिरहेका छन्। ‘केही वर्षमा हामीले मानवमा भएको जस्तै धेरै व्यवहार र धेरै क्षमता उनीहरूमा पत्ता लगाउनेछौँ’‚ अनुसन्धानकर्ताहरू भन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.