|

काठमाडौँ : कान्ति बाल अस्पतालमा उपचार गर्न जाने विरामीले ३ घन्टा कुरेपछि मात्र चिकित्सकलाई जँचाउन पालो पाउने गरेको पाइएको छ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आइतवारदेखि शुक्रवारसम्म विहान ८ बजेदेखि १ बजेसम्म ओपिडी सेवा सञ्चालन हुने भए पनि विरामीले अस्पताल पुगेर टिकट काटेको २ देखि ३ घन्टापछिमात्र जँचाउन पालो पाउने गरेको पाइएको हो।  

यतिमात्र होइन कान्ति अस्पतालमा बालबालिका जटिल प्रकारका सर्जरी गर्न त ६ महिनादेखि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको पनि प्रतिवेदनले औँल्याएको छ।

जसमा हाइड्रोक्सिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ।

अस्पतालमा हाल ३ शल्यचिकित्सा कक्ष रहेकोमा २ वटामात्र चालु अवस्थामा छन्। अस्पतालमा ३३ शय्याको आईसीयू. र ३० शय्याको सर्जिकल वार्ड भएता पनि आईसीयू सेवा आवश्यक पर्ने विरामीलाई शय्या अभावमा अन्य अस्पतालमा रिफर गर्नु पर्ने अवस्था रहेको छ।

साथै कान्ति अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको मुटु रोगको उपचार गर्ने कार्डियो सेवा सञ्चालनमा रहेता पनि छुट्टै कार्डियो युनिट र मुटुरोग विशेषज्ञको पदपूर्ति हुन सकेको छैन।

अस्पतालमा इको, क्याथल्याब र सीसीयू नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लाष्टी, एन्जियोग्राफीलगायत सेवा उपलब्ध छैनन्।

अस्पतालमा हाल जनशक्ति व्यवस्थापन अस्पताल विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत गरी २९६ जना चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी रहेका छन्।

तीमध्ये स्थायीतर्फ १३५ कार्यरत रहेको र रिक्त दरबन्दीमा सेवा करार तथा ज्यालादारीबाट सेवा सञ्चालन गरेको छ। सरकारीतर्फ ७५ जना चिकित्सक, ९६ जना नर्स र अन्य ९३ जनाको दरबन्दी रहेकोमा चिकित्सक ६६ जना, नर्स ६५ जनासमेत जम्मा १७० जना कार्यरत रही चिकित्सक ९ जना र नर्स ३१ जनासमेत गरी ९४ पद रिक्त रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.