|

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्दै छ। ​महात्वाकांक्षी योजनादेखि लघुवित्तको ऋण मिनाहा गर्नेसम्मका कार्यक्रम राखेर १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी अर्थमन्त्री वर्षमान पुनले गरेका छन्।

उत्पादन, सूचना प्रविधि, स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रमसहित अर्थमन्त्री पुनले भोलि दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्ने तयारी गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वितरणमुखी केही कार्यक्रम राख्नका लागि दबाब दिएका कारण बजेटको आकार १९ खर्ब पुग्ने स्रोतले बताएको छ। राजश्व वृद्धि २५ प्रतिशत राखिने बजेटमा आन्तरिक र बाह्य ऋणको आकार पनि बढाउने तयारी अर्थमन्त्री पुनले गरेको बताइएको छ। 

स्टार्टअपका लागि १० वर्षसम्म आयकर छुट, सहुलियतपूर्ण ऋण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा स्थानीय तहलाई शिक्षामा दिँदै आएको अनुदान खारेज गर्ने घोषणा बजेटमा गरिने भएको छ। 

सरकारले १ सय वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दोब्बर बनाउने र वृद्धभत्ता पाउने उमेर ६८ बाट २ वर्ष बढाएर ७० वर्ष नै पुर्‍याउने घोषणा बजेटमा गर्ने तयारी छ।

अर्थमन्त्री पुनले लघुवित्तको ऋण मिनाहा गर्ने कार्यक्रमसमेत घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ। ऋण मिनाहाबारे छलफल भइरहेको र कतिसम्म मिनाहा गर्ने तय नभएको स्रोतले बताएको छ। ऋण मिनाहाको घोषणा गर्दा सरकारले कम्तिमा ३६ अर्ब रुपैयाँ अतिरिक्त भार थपिनेबारे पनि छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.