|

सिरहा : मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरी गाउँ।

मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित मरुञ्जेल पानी पिउन नपाएको महिनौँ भइसकेको छ। खडेरी लम्बिएको छ‚ खोला, इनार र कुवा सुकेका छन्। त्यसैले अझै कति दिन उनीहरुले यस्तो नियती भोग्नुपर्ने हो टुङ्गो छैन। 

पानीबिनाको जिन्दगी कल्पना पनि गर्न सकिँदैन तर यहाँका बासिन्दाले यति वेला पानीकै लागि तीनै तहका सरकारसँग गुहार मागिरहेका छन्। 

“एक महिनाअघिसम्म नजिकैको इनारमा धमिलै भए पनि पानी रसाउँदै थियो, अहिले त्यो पनि सुकिसकेको छ। अब के पिएर बाँच्ने, कहाँबाट पानी किनेर ल्याउने”, स्थानीय शोभा लकान्द्री भन्छिन्, “हामी बाउआमा त भोकप्यास सहुँला तर छोराछोरीले काकाकुल भएर पानी माग्दा के दिनु? अब पानीबिना तड्पिनुपर्ने अवस्था आएको छ।” 

खाना पकाउन आवश्यक धमिलो पानीसमेत नभएर कैयौँ दिन चियामै बालबच्चालाई भुलाएको र आफूहरु भोकै बसेको पीडा उनले सुनाइन्। 

अँधेरी गाउँमा ३६ परिवार बसोबास गर्छन्। खानेपानीको चरम अभाव यहाँको साझा समस्या हो तर समस्या टार्न स्थानीय सरकारको ध्यान गएको छैन।

स्थानीय वीरेन्द्रकुमार यादवले खानेपानी अभाव हटाउन स्थानीय युवाले नजिकैको चोहर्वाबाट ट्र्याक्टरमामार्फत पानी ल्याउने गरेको सुनाए। 

“हामी वेलावेला चोहर्वाबाट खानेपानी ल्याउँछौँ। त्यो वेला पानीका लागि स्थानीयले गरिरहेको लुछाचुँडी देखेर सामाजिक सञ्जालमा अन्य देशमा देखेका दृश्य झल्झली आँखामा नाच्छन्”, यादव भन्छन्, “यहाँका बालबालिकाले आफ्ना अभिभावकसँग अघाउञ्जेल खाने गरी धेरै पानी माग्ने गरेको बिलौला सुन्दा त निकै भावुक बनाउँछ।” 

यादवका अनुसार चोहर्वाका केही युवाले ३ हप्तादेखि वेलावेला पानी वितरण गरिरहेका छन् तर आर्थिक अभावका कारण सधैँ यसरी वितरण गर्नसक्ने अवस्था छैन।

“जनप्रतिनिधिले गर्नुपर्ने काम हामीले गरिरहनुपरेको छ। यस विषयमा जनप्रतिनिधिसँग कुरा नगरेका पनि होइनौँ तर उहाँहरुले समस्या समाधानका लागि चासो राख्नुभएको छैन। उहाँहरूले चाहेमा हामीले गरेजस्तै पानी वितरण गर्न सकिन्छ नि”, यादवले गुनासो गरे।

स्थानीय बुद्ध लामाले आफूहरुलाई चुरेवासीले वर्षेनि भोगिरहेका समस्याबारे चुनाव र त्यसपछि बारम्बार जानकारी गराउँदा पनि सबैले बेवास्ता गरिरहेको बताए। 

“पानीको समस्या समाधान होला, खानेपानी आयोजना बनाउलान् भनेर गाउँवासीले सल्लाह गरेरै भोट हाल्छौँ। यसपटकको स्थानीय चुनावमा पनि त्यही गर्‍यौँ तर चुनाव जितेको झण्डै २ वर्ष बितिसक्दा पनि हाम्रो समस्या समाधान भएन। हिउँदयाममा अघाउञ्जेल पानी खान नपाउने अवस्था कायमै छ‚” लामाले भने।

उनले गत हप्ता वडा, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खानेपानीको अभावबारे जानकारी दिँदै अस्थायी व्यवस्था गर्न आग्रह गरेको जानकारी दिए। 

उनले अगाडि थपे, “वडा र नगरमा जाँदा बोरिङ आउँदै छ भन्छन् तर कहिले आउने हो टुङ्गो छैन। हामी निमुखाको आवाज कसले सुन्छ र हजुर!” 

अँधेरी गाउँको समस्या समाधानका लागि नगरपालिकाले ‘डिपबोरिङ’ गाड्ने भन्न थालेको पनि धेरै भइसकेको छ तर माखो पनि मारेको छैन। 

स्थानीयले चालु आर्थिक वर्षमा पनि त्यस्तो योजना रहेको सुनिरहेका छन् तर हालसम्म पनि काम हुने कुनै सुरसार देखिएको छैन। 

वडाध्यक्ष दिनेशकुमार मण्डल र नगरपालिकाको नेतृत्व यहाँको समस्याबारे बेखबर छैनौँ भनेर दावी गर्छन्। वडाध्यक्ष मण्डल स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको बताउँछन्। 

“योभन्दा पहिले त्यस गाउँको बीचमा पर्नेगरी एउटा हाते बोरिङ लागाउन खोजेकै हो तर स्थानीयबीचको विवादले सम्भव भएन”,अध्यक्ष मण्डलले भने, “ठूला योजना वडाको स्रोतसाधनले कार्यान्वयन गर्न सकिँदैन। यसवर्ष नगरबाट हाम्रो वडाका लागि तीनवटा डीपबोरिङ दिने कुरा छ, त्यसमध्ये पहिलो प्राथमिकतामा अँधेरी गाउँ नै छ।” 

उनले नजिकै रहेका रामपुरा, सुन्दरपुर र ननुवाको बीचमा अवस्थित कमलदहमा पानीको सतह घटेर आसपासका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृत रूपमा समस्या समाधानको पहल गर्नुपर्ने बताए।

नगरप्रमुख श्रवणकुमार यादवले केही दिनदेखि पानी वितरण भइरहे पनि दीर्घकालीन समस्या समाधानका लागि पहल गर्ने बताए। 

उनले वैकल्पिक व्यवस्था नहुँदासम्म आफ्नो नगर क्षेत्रका जनतालाई पानी ओसारेर वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

“नगरपालिकाले ७० लाख रुपैयाँको लागतमा तीनवटा डिपबोरिङ योजना यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखेको छ, त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, नगरप्रमुख यादवले भने, “अँधेरीलगायत पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ।”

पानीका सतह गहिरिँदै जाँदा ठूला डिपबोरिङ पनि असफल भइरहेकाले त्यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकारहरू बताउँछन्। 

नगरप्रमुख यादव भने ठूला योजना सञ्चालन गर्न नगरको आर्थिक स्रोतले नभ्याउने भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। 

“डिपबोरिङ पनि खानेपानी समस्या समाधानको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ। त्यसैले चुरे संरक्षणका साथै यहाँका नदीनालामा ड्याम लगाएर पानी सञ्चित तथा स्थानीयलाई आपूर्तिका लागि तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन”, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.