|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक भत्कायो। तर संघीय सरकारको मातहत उक्त सडक महानगरले अनुमति बिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले रोक्न जेठ ३ गते अनुरोध गर्‍याे। महानगरपालिका पछि नहटेपछि यतिखेर महानगरपालिका प्रमुख बालेन शाह र सडक डिभिजन कार्यालयबीच टकरावसँगै दोहोरी चलेको छ। 

महानगरपालिकाले सडक खन्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने सडक डिभिजन कार्यालय काठमाडौँले हिजो फेरि अर्को पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भनेको छ। यसपछि कतिपयले महानगरपालिकाका प्रमुख शाहले कार्यक्षेत्र मिचेर जबरजस्ती सडक खनेको भन्दै उनको आलोचना गरिरहेका छन्।

सडक डिभिजन कार्यालय काठमाडौँले केही समयअघि डोजरसहितका मेसिनसमेत नियन्त्रणमा लिएको थियो तर पनि हालसम्म विवाद कायमै छ।

सडक खन्न नदिएपछि महानगरपालिका प्रमुख शाहले चक्रपथको दोस्रो सडक विस्तारमा ढिलाई हुँदा धुवाँ धुलोले सास्ती भएको र महानगरपालिकालाई गाली आएको भन्दै जेठ १२ गते सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा धुलो थुपारिदिएका थिए। यो कारण पनि सडक डिभिजन काठमाडौँ औधी आक्रोशित छ। 

कार्यालयले महानगरपालिकाको नाममा काटेको पत्रमा भनिएको छ, ‘मिति २०८१/०२/३ को पत्रमार्फत पनि यस कार्यालयको कार्यक्षेत्र भित्र सहमतिबिना कुनै पनि काम नगर्न/नगराउनु हुन भनी अनुरोध गरिए पनि मिति २०८१/१/१२ मा बिना सहमति न्युरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडकखण्डमा तहाँबाट सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन,२०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको देखिएकाले सो कार्य तुरून्त रोकी सडक यथास्थितिमा पुनःस्थापना गरिदिनु हुन भनी मिति २०८१/२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनःस्थापना भएको देखिएन।’

त्यसैले कार्यालयले २ दिनभित्र सडक पुनःस्थापना गर्नू भनेको छ। ‘नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ, तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापना गरिदिनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख छ।

स्थानीयको पनि विरोध

न्युरोडलाई साँघुरो गरेर फुटपाथ बढाउने महानगरपालिकाको निर्णयविरूद्ध त्यहाँका स्थानीय बासिन्दा पनि आन्दोलनरत छन्।

उनीहरूले गत सोमवार सडकमा ‘नयाँ सडक बचाऊँ, न्युरोड साँघुरो गर्न मिल्दैन’ भन्दै आन्दोलन गरेका थिए। अझै उनीहरूको आन्दोलन जारी नै छ। महानगरपालिका प्रमुख शाहको यो कदम ठीक नभएको स्थानीयको भनाइ छ।  

कारबाही गर्ने चेतावनी, के छ कानुनी प्रावधान?

डिभिजन सडक कार्यालय काठमाडौँले दुई दिनभित्र सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने चेतावनी दिएको छ।

सार्वजनिक सडक ऐन, २०३१ (संशोधनसहित २०७५) को दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने व्यवस्था छ।

उक्त दफाको उपदफा (१) मा भनिएको छ, ‘सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आबादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन।’

उपदफा (२) मा कसैले सडक विभागको स्वीकृति प्राप्त नगरी उपदफा (१) मा उल्लिखित कुनै कार्य गरेमा सडक विभागले त्यस्तो व्यक्तिउपर यस ऐनको अन्य दफाबमोजिम कुनै कारवाही चलाउनुपर्ने भए सोसमेत चलाई स्वीकृति नलिई बनाएको प्रवेश मार्ग बन्द गर्न, खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला‚ लट्ठा‚ तगारो आदि उखेल्न वा हटाउन वा बनाएका घर टहरो वा छाप्रो भत्काउन वा आबादी गरेको जग्गा बझ्याउन मुनासिब माफिकको म्याद तोकी त्यस्तो व्यक्तिको नाउँमा आदेश जारी गर्न सक्ने उल्लेख छ। 

सम्बन्धित व्यक्तिले उपदफा (२) बमोजिम जारी भएको आदेश पालना नगरेमा त्यस्तो व्यक्तिले बनाएको प्रवेश मार्ग बन्द गर्न वा खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला, लट्ठा, तगारो आदि उखेल्न वा हटाउन वा बनाएको घर, टहरो वा छाप्रो भत्काउन वा आबादी गरेको जग्गा बझ्याउन सक्नेछ र सोबापत लागेको खर्चको रकम सम्बन्धित व्यक्तिबाट सडक विभागले असुलउपर गरी लिन सक्ने व्यवस्था छ।

ऐनको परिच्छेद ५ को दफा ३० दण्ड सजाय तोकिएको छ। कसैले दफा १९ को उपदफा (१) को बर्खिलाप कुनै काम गरेमा वा सोही दफाको उपदफा (३) बमोजिम सडक विभागले कुनै काम कारबाही गर्दा बाधा विरोध गरेमा १ वर्षसम्म कैद वा ५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

महानगरले गर्ला सडक पुनःस्थापना?

सडक डिभिजन कार्यालय काठमाडौँले २ दिनभित्र सडक पुनःस्थापना गर्न निर्देशन दिए पनि महानगरपालिका उक्त निर्देशन पालना गर्ने पक्षमा देखिँदैन।

महानगरपालिकाको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार महानगरपालिकाले पनि हिजो (बुधवार) नै कार्यालयलाई पत्र पठाएको छ। ‘महानगरपालिकाले पनि हिजो नै पत्र पठाएको छ, त्यहाँ मन्त्रिपरिषदका निर्णय छन्, त्यसैअनुसार हामीले सडक खनेका हौँ‚’  उनले भने।

२ दिनभित्र सडक पुनःस्थापना हुन्छ हुँदैन भन्ने प्रश्नमा उनले यसबारे छलफल भइरहेको जानकारी दिए। सकेसम्म सडक घटाएर फुटपाथ थप्ने पक्षमै महानगरपालिका छ। 

महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोक सम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ।जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ  भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.