|
सांकेतिक तस्वीर

टीकापुर : तापक्रम अत्यधिक बढेर सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्।

बुधवार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

बुधवार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ। मंगलवार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधवार साँझ ५ बजेर ४५ मिनेटमा ४३ दशमलव ३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए।

कैलालीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको उनको भनाइ छ। गत वर्ष कैलालीमा गर्मी बढ्दा ४१ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड भएको थियो। 

गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेका हुन्। कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिकाले आजदेखि २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। 

दैनिक गर्मी बढिरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाले जनाएका छन्। 

टीकापुरका संस्थागत (निजी) विद्यालयले भने आजदेखि २६ गतेसम्मका लागि पठनपाठन बन्द गरेका छन्।

गर्मीले विद्यार्थी विद्यालयमा नियमित उपस्थित नहुने र विरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताए।

“विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थाल्यो, आएकाहरूमा पनि स्वास्थ्य समस्या देखिन थाल्यो”, थापाले भने, “थप स्वास्थ्य समस्या हुनुभन्दा विद्यालय बन्द गर्न उचित ठानेर नगरपालिकासँगको समन्वयमा बिदा दिएका हौँ ।”

टीकापुरका सरकारी (सामुदायिक) विद्यालयमा जेठ २७ गतेदेखि बर्खे बिदाको तयारी गरिएको थियो। शिक्षक महासङ्घ टीकापुरका नगर अध्यक्ष रघुनाथ उपाध्याय भने सरकारले बिदा दिनुभन्दा विकल्प खोज्नुपर्ने सुझाव दिन्छन्। 

“विद्यालय सुविधासम्पन्न बनाउनुपर्छ, टिनका छाना हटाउने, हरेक कक्षाकोठामा पङ्खा, बिजुलीको सुविधा गर्नुपर्‍यो”, उनी भन्छन्, “बालबालिकाका लागि वातावरण अनुकूलित वातावरण बनाउनतर्फ ध्यान जानुपर्छ।”

कैलालीको जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने विहान सञ्चालनमा छन्। भजनी नगरपालिकामा भने जसरी विद्यालय र विद्यार्थीलाई सहज हुन्छ त्यसैगरी विद्यालय सञ्चालन गर्न अनुरोध गरेकाले विद्यालयले वातावरणअनुकूल विद्यालय सञ्चालन गरिरहेका छन्। 

जानकी, जोशीपुर र भजनीका अभिभावक भने अझै केही दिन तातो हावा र गर्मी बढ्ने देखिएकाले विद्यालय बन्द गर्नुपर्ने माग गरिरहेका छन्। अभिभावक तेतरानी चौधरीले केही दिन गर्मी बिदा दिएर पछि बिदा मिलान गर्नुपर्ने सुझाव दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.