|

काठमाडौँ : नेपाल प्रहरीले १ अर्ब ५१ करोड रुपैयाँ ठगेको आरोपमा चन्द्रबहादुर लामालाई पक्राउ गरेको छ। आइतवार नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो।  

पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि उनी अध्यक्ष रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको मागदावीसहित उजुरी परेको बताए। 

यसैगरी उनी नै अध्यक्ष रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड रुपैयाँ हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको उनले बताए।

उनले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए।

‘मिति २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ। प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ २/३ महिनादेखि नै फरार रहेको देखिन्छ‚’ उनले भने, ‘खोजतलास गर्दा काठमाडौँ उपत्यकाभन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो। २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ। काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस-८ रहेको छ।’

एसएसपी भट्टराईले २०४९ सालदेखि लामाले ओसिन एड्भटाइजिङ मिडियामा समाचार संकलनको रुपमा काम गरेको‚ २०५२ भदौमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको जानकारी दिए। 

उनले लामाबाट सामसुङ मोबाइल २ वटा, नोकिया एउटा, एसी कम्पनीको एउटा सादा सेट र ६ थान सिम बरामद भएको बताए। 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको मागदावी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रहेको खुलेको पनि एसएसपी भट्टराईले बताए। उनले यो रकम अझ थपिने क्रममा रहेको बताए।

लामा नै अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.