|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रै ४ जना बालश्रमिकको उद्धार गरेको छ। 

बुधवार सिंहदरबारभित्रका विभिन्न खाजाघरमा काम गर्ने ४ जना बालश्रमिकलाई महानगरले अनुगमन गरी उद्धार गरेको हो। 

काठमाडौँ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने २ बालक र २ बालिकाको उद्धार गरिएको बताए। 

उनले ४ जना बालबालिकामध्ये ३ जनाको नागरिकता नभएको र एकजनाको नागरिकतामा १८ वर्षभन्दा उमेर कम देखिएको बताए। 

उनले काठमाडौँ महानगरभित्र हुने बाल शोषण अन्त्य गर्न सिंहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकाको महानगरले उद्धार गर्ने बताए। 

उनले देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने ठाउँमा नागरिकता नबनेका कलिला बालबालिकालाई काममा लगाएको पाइएको बताए। 

उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा त्यस्तो नभेटिएको बताए। उनले बालश्रमविरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए। 

‘देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा नागरिकता नलिई छिर्न पाइँदैन र सक्कल नै देखाउनुपर्छ। भित्रबाट कसैले जिम्मा लिएर छिर्न पाउने ठाउँमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई कसरी काममा लगाइयो‚’ उनले भने, ‘यसले सिंहदरबारको सुरक्षादेखि लिएर अनुहार उजागर गरिदिएको छ। भारतीय बालबालिका थिए भन्ने गुनासो आएको थियो तर अनुगमनका क्रममा देख्न पाएनौँ। अनुगमन जारी राख्छौँ।’

उनले महानगरपालिका बालबालिकाको हकसम्बन्धमा गम्भीर रहेको बताए। उनले दिनभरि काम गर्नुपर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुको उद्धार गरिएको बताए। 

उनले महानगरले सबै बाल उद्धारसम्बन्धी सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताए।

‘महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भीर छ। महानगरपालिका‚ सिंहदरबार वा व्यक्तिगत घर भन्दैनौँ जहाँ पनि बालबालिकामाथि शोषण भइरहेको छ‚ त्यसविरुद्ध उद्धार जारी रहन्छ‚’ उनले भने‚ ‘आज अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसकै दिन सूचना आयो। दिनभरि काम गर्नुपर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि आज सिंहदरबारबाट २ जना बालक र २ जना बालिका गरि चारजनाको उद्धार गर्‍यौँ।’

महानगरपालिका केही दिनदेखि बालश्रमविरुद्ध अभियान चलाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.