|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् । उनले सदनको नेता प्रधानमन्त्री भए पनि उनले सदनलाई बिर्सेर सदनबाट भाग्न खाजेको आरोप लगाए।

उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए।

उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए। उनले  प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए।

उनले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे।

उनले भने, ‘नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री भारतको लोकसभाको निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन जानु राम्रो हो। तर उहाँले भारत गएपछि संघीय संसदलाई विर्सनु भयो। हाम्रो एउटा संसदीय परम्परा छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मन्त्री राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उदेश्यले जाने,कति दिनका लागि जाने भनेर संसदलाई जानकारी दिने बाध्यत्मक परम्परा छ। प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानुभएको छ। फर्केर आएको पनि पाँच दिन भइसकेको छ। अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यू मुलुकबाहिर जानुभएको छ। राष्ट्रप्रमुख देश बाहिर जानुहुन्छ। सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ। तर सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबार बढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ। सरकारका कारणले संसदको न्युनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन। यो खेदजनक छ।’

प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरे। उनले गृहमन्त्री लामिछानेले केही समयअघि काँग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे।

उनले सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो? भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए।

सचेतक लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङको माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.