|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।

शनिवार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए। एकदुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उनको भनाइ थियो।

उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजनको समीक्षा गर्न जरुरी रहेको बताए। उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे। उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिने बताए। उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी नभएको बताए।

उनले स्वार्थका थैला भर्न अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिका अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए। उनले प्रतिक्रियावादीहरूले नेकपा एमालेविरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनीय कुरा गरी समाजमा भ्रम पैदा गरिरहेको बताए।

ओलीले भने, ‘एकदुईजनाको मुख हेरेर हामी सरकारमा छौँ भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ। देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउन सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने। हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ। यि सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस्।’

अध्यक्ष ओलीले नेकपा एमालेका विरोधी प्रतिक्रियावादीले देश अगाडि नबढोस् भन्ने चाहने गरेको बताए। उनले नेकपा एमाले देश बनाउने संकल्प, दृढता र अठोटमा रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.