|

काठमाडौं : संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका छन्। 

सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। 

सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । 

चालु आवमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

त्यस्तै मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ। 

सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको बागमती प्रदेशले भने बजेट बढाएको छ। बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपैयाँले बढी हो। चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

गण्डकी प्रदेशले पनि चालु आवको तुलनामा करिब एक अर्ब रुपैयाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो। 

लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली सरकारले पनि दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले भने आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ। चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.