|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आर्थिक वर्ष ०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगरसभाको १५औँ अधिवेशनमा प्रस्ताव गरिसकेका छन्।

जेठ ३२ गते सभागृहमा आयोजना गरिएको सभामा उनले काठमाडौँ ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, समावेशी, दिगो र जीवन्त शहर निर्माण गर्न नीति प्रस्ताव गरिएको उल्लेख गरेका छन्। जसमा शैक्षिक क्षेत्रका लागि विभिन्न नीति तथा कार्यक्रमहरू समेटिएका छन्। 

पूर्वप्राथमिकलाई दुई तहमा सञ्चालन गरिने

महानगरपालिकाले पूर्वप्राथमिक तहका कक्षालाई कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति लिएको छ। विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि नै अनिवार्य गरिने, सबै स्रोत केन्द्रमा कम्तीमा १/१ जना मनोसामाजिक परामर्शदाता र नर्सको व्यवस्था
गरिने पनि महानगरपालिकाले महानगरपालिका प्रमुख शाहले जानकारी दिए। 

‘विद्यार्थीको अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ,’ उनले भने।

दिवा खाजाको लागि डाइट प्लानसहितको मापदण्ड महानगरपालिकाले सरकारी (सामुदायिक) विद्यालयहरूमा दिवा खाजाको लागि डाइट प्लानसहितको मापदण्ड लागू गरिने पनि नीति लिएको छ। 

यसो गर्दा विद्यार्थी सङ्ख्या २ सयभन्दा कम भएका विद्यालयहरूमा सेन्ट्रल किचनको अवधारणासमेत प्रयोगमा ल्याइने योजना छ।

‘सामुदायिक र संस्थागत विद्यालय तथा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौँ महानगरपालिकाको एकद्वार प्रणालीमार्फत् वितरण गर्ने व्यवस्था मिलाइनेछ,’ बालेनले भने।

अटिजमको लागि विशेष विद्यालय स्थापना गरिने

महानगरपालिकाले अटिजम भएका विद्यार्थीलाई लक्षित गरी विशेष विद्यालय स्थापना गरी सञ्चालन गर्ने पनि नीति लिएको छ।

सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा अपाङ्गता भएका विद्यार्थीहरूलाई भेदभावरहीत तवरमा पठनपाठन कार्य गर्न गराउन अनिवार्य गरिने, विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणाबमोजिम पार्ट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइने पनि महानगरपालिकाले नीति लिएको छ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित शैक्षिक तथा रोजगार परामर्श केन्द्रहरूको अनुमति, नवीकरण, नियमन, गुणस्तर परीक्षण र प्रमाणीकरणसम्बन्धी कार्य गर्न काठमाडौँ सीप तथा तालिम परिषद् गठन गरिनेछ,’ बालेनले भने, ‘सामुदायिक विद्यालयहरूको भौतिक तथा वित्तीय परीक्षणका आधारमा विद्यालय सुधार योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ, विद्यालयको चल अचल सम्पत्तिलाई शैक्षिक प्रयोजनका लागि मात्रै उपयोग गरिनेछ।’

महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई पुस्तकालयको रुपमा विकास गरिने, निजी तथा गैरसरकारी संस्थाहरूलाई पुस्तकालय सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नीति पनि महानगरपालिकाले लिएको छ।

‘विद्यालयको वित्तीय सुशासनको लागि विद्यालयको लेखापरीक्षण महानगरपालिकाबाट गरिने प्रबन्ध मिलाइनेछ, व्यावसायिक खेलाडी तथा प्रशिक्षकको रूपमा जनशक्ति विकास गर्न सम्भावित विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गरिनेछ, विद्यालय स्तरमा वार्षिक रूपमा एकमहिने खेल महोत्सव आयोजना गरिनेछ,’ बालेनले भने।

काठमाडौँको स्थानीय पहिचान र मौलिक सभ्यताका विषयहरू समेटिएको संक्षिप्त पाठ्यक्रम तयार गरी कक्षा ११ र सोभन्दा माथिल्लो तहका विद्यालय तथा क्याम्पसहरूमा अतिरिक्त कक्षा सञ्चालनका लागि सहजीकरण गरिने योजना महानगरको छ। 

विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूले शिक्षण गर्ने प्रबन्ध मिलाइने 

महानगरपालिकाका प्रमुख शाहले विश्वविद्यालयका गोल्ड मेडलिस्टहरूलाई सामुदायिक विद्यालयको रिक्त शिक्षक पदमा करार सेवामा शिक्षण गर्ने प्रबन्ध मिलाइने पनि नीति लिएका छन्।

काठमाडौँलाई अन्तरराष्ट्रिय शैक्षिक गन्तव्यको रुपमा विकास गरी विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिने पनि महानगरपालिकाले नीति लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.