|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दायाँबायाँ हुन नदिने रणनीतिस्वरूप जनमत र नागरिक उन्मुक्ति पार्टीलाई भित्र्याउने तयारी गरिरहेका वेला अहिलेकै सत्तासीन दलहरूबीच तीव्र असन्तुष्टि देखिएको छ। सत्ता समीकरणभित्रको प्रमुख घटक नेकपा एमाले स्वयं सन्तुष्ट देखिँदैन भने अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै पनि वेला सरकार छाड्नेसम्मको चेतावनी दिएको छ। 

सबैभन्दा बढी ८ मन्त्री सरकारमा पठाएको एमाले नै सरकारप्रति सन्तुष्ट छैन। शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष मान्ने ठाउँ नरहेको टिप्पणी गरे।   

‘एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउन सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’, ओलीले भने, ‘हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ। यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस्।’

खासगरी आगामी आर्थिक वर्षको बजेटयता सरकारको नेतृत्व गरिरहेको माओवादीसँग एमाले सन्तुष्ट छैन। बजेटका सन्दर्भमा आफूहरूसँग छलफल नगरिएको र माओवादीको एकलौटी जस्तो देखिने बजेट आएको भन्दै शुरुदेखि नै एमाले नेताहरूले असन्तुष्टि पोख्दै आएका छन्। यद्यपि एमालेले बजेट पास गर्न भने सघाउने स्पष्ट पारिसकेको छ।

वर्तमान सत्ता समीकरणको मेरुदण्डका रूपमा रहेको रास्वपा पनि आफैँ रहेको सरकारप्रति सन्तुष्ट छैन। युवा तथा खेलकुदमन्त्रीसमेत रहेका रास्वपा सांसद विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै समर्थनबारे विचार गर्ने वेला आएको बताएका छन्।

शनिबार रास्वपा स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको टिप्पणी मात्र गरेनन्, आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको भन्दै त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताए।  

‘हामी अहिले सरकारमै छौँ तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ। हामी दुईधारे तरबारका बीचमा चलिरहेका छौँ’, उनले भने, ‘केही चिजमा अनावश्यक, अनधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यही दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ।’

त्यसो त रास्वपामा शुरुदेखि नै सरकारमा रहने नरहने भन्ने विषयमा दुईमत छ। रास्वपाका कतिपय नेताहरूले पहिल्यै सरकारमा जान नहुने मत राख्दै अझै निरन्तर रहने हो भने पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने बताउँदै आएका छन्।  

एमाले र रास्वपा मात्र नभई अर्को सत्तारुढ घटक एकीकृत समाजवादी झन् कहिल्यै सन्तुष्ट नरहेको देखिन्छ। असन्तुष्टि प्रकटमात्र होइन, पार्टी अध्यक्ष माधव नेपाल भित्रभित्रै वैकल्पिक गठबन्धन बनाउनसमेत लागिपरेका थिए।  

यसरी सत्तारुढ दलहरूले नै चर्को असन्तुष्टि पोखेपछि वर्तमान प्रचण्ड सरकारको आयुबारे विभिन्न आशंका उत्पन्न भएका छन्। सरकारको आयुबारे धावा बोल्नु प्रमुख प्रतिपक्षीको धर्म भए पनि संसद्‌बाहिरकै कतिपय दलले समेत केही समयभित्रै सरकार भताभुङ्ग हुने लख काटिरहेका छन्। 

शनिबार काठमाडौंमा अयोजित एक कार्यक्रममा नेकपाका महासचिव विप्लव नेतृत्वले सरकारमा सहभागी मान्छेहरूको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको बताएका हुन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल भने साझेदार दलहरूको असन्तुष्टि स्वभाविक ठान्छन्। संयुक्त सरकार भएकाले कसैलाई कुनै कुरामा चित्त नबुझ्नु स्वभाविक भएको भन्दै त्यस्ता विषयमा छलफल गरेर जानुपर्ने उनी बताउँछन्।  

‘कसैसँग एकल बहुमत नभएको अवस्थामा बनेको संयुक्त सरकार हो। सरकारमा भएका दलहरू एकअर्काका पूरक हुन्। त्यसैले कहिले कसैको चित्त नबुझ्न सक्छ जुन स्वभाविक हो’, उनले भने, ‘तर अहिले जुनजुन विषयमा असमझदारी देखा परेको छ, त्यसलाई संयन्त्रको बैठक बोलाएर छलफल गरेर अघि बढ्नुपर्छ।’ 

सामान्य असन्तुष्टि देखा परे पनि सरकार भने दायाँबायाँ हुने अवस्था नरहेको उपमहासचिव पोखरेल दाबी गर्छन्। उनले भने, ‘अहिले अर्को सरकार बन्ने कुनै सम्भावना छैन। म चाहिँ सरकारको दिनगन्ती शुरु भएको अवस्था पटक्कै देख्दिनँ।’ 

सरकारमै रहेका दलहरू सरकारप्रति सन्तुष्ट हुन नसक्नुलाई विश्लेषकहरू भने व्यर्थैमा गरिएको सत्ता समीकरण परिवर्तनको असर ठान्छन्। राजनीतिक विश्लेषण देवेश झा साझेदारहरूले जुनजुन विषय उठाएर सरकारप्रति असन्तुष्टि पोखिरहेका छन्, यसमा कुनै भित्री रहस्य वा स्वार्थ छैन भने त्यो विनाकारण सत्ता समीकरण परिवर्तन गरिँदाको असर ठान्छन्। 

‘पहिलो त अहिलेको गठबन्धन निर्माणको राजनीतिक कारण नै स्पष्ट छैन। प्रचण्डजीकै शब्द सापटी लिने हो भने उथलपुथलका लागि मात्रै गर्नुभएको देखिन्छ तर त्यो अर्थहीन उथलपुथल’, उनले भने, ‘जनताबाट भोट माग्ने वेला बनाइएको गठबन्धन भत्काएर कृत्रिम सम्झौताहरू गरिएपछि हुने यही हो।’  

विश्लेषक झा भने सरकारमै रहेका दलहरूले सरकारकै आलोचना गर्नु र असन्तुष्टि पोख्नुको पछाडि अन्य कुनै रणनीतिक कारण पनि हुन सक्ने बताउँछन्। एमाले अध्यक्ष ओलीले आफ्नै सरकारप्रति असन्तुष्टि देखाएर अरू नै केही सन्देश दिन खोजेको हुन सक्ने उनी बताउँछन्। 

‘एमालेको असन्तुष्टि वास्तममा प्रचण्डसँगै छ वा असन्तुष्टि देखाएर अन्य कुनै ठाउँमा केही सन्देश दिन खोजेको पनि हुन सक्छ’, उनी भन्छन्, ‘अहिले हामीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता देखिरहेकै छौँ। उहाँ चीन जाने तयारीका कुरा पनि सुनिएका छन्। चीनको भित्री सहयोग उहाँलाई प्राप्त हुने कुरा पनि आइरहेकै छन्। यस्तो अवस्थामा विद्या नेतृत्वमा आए प्रचण्ड र माधवसमेत समेटिने गरी बृहत् गठबन्धन बन्न सक्छ भन्ने चीनको हुनसक्छ तर ओलीजीले २० वर्ष कसैले आश नगर्नु भनेर पहिल्यै भनिसक्नुभएको छ। त्यसकारण के पनि हुनसक्छ भने ओलीजीले यो गठबन्धन सरकारप्रति असन्तुष्टि जनाए जस्तो गरेर विद्याप्रति चीनको जुन सद्भाव छ त्यसमा सांकेतिक चेतावनी त दिइराख्नुभएको छैन!’   

रास्वपाको चेतावनीलाई भने विश्लेषक झा ‘स्टन्ट’को रूपमा अर्थ्याउँछन्। ‘युवापुस्ताले आश गरेको पार्टी रास्वपा अहिले स्टन्टको राजनीतिमा लागेको छ। रास्वपामा पनि कुनै सुधारको छाँट छैन भनेर इलाम उपनिर्वाचनले देखाइसक्यो’, उनी भन्छन्, ‘खल्तीमा राजीनामा पत्र लिएर हिँडिरहेका छौँ भनेर कसलाई भनेको ? यो घुर्कीबाहेक अरू केही होइन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.