|

सोलुखुम्बु : सगरमाथा पदयात्रा पदमार्ग (एभरेष्ट ट्रेकिङ ट्रेल)  क्षेत्रको  पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बनेको छ। पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार  सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै एक करोड २५ लाख रकम विनियोजन गरेको थियो। 

यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा २५ लाख रुपैयाँ, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा २५ लाख रुपैयाँ, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा २५ लाख रुपैयाँ, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा २५ लाख रुपैयाँ र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले  जानकारी दिए। पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यो क्षेत्रमा पर्यटनको आवगमनलाई थप सहज बनाउने उनले बताए। 

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यो क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले  निकै महत्त्व साथ हेरेका छन्। पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यिनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यो क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो। लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो। पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइेत तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउँछन्। 

तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ। यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन्।

यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैयाँ लगानीमा धमाधम भइरहेको छ। यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवगमनमा असर पर्ने भएकाले  सिजन कम भएसँगै काम शुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।  

विश्वको छैटौँ अग्लो आठ हजार १८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्त्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ। सगरमाथा क्षेत्रमै पर्ने चोयू हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्छन्।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ। डरलाग्दो भीर काटेर पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ। सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिए।

जोक्पे तथा घोडा खच्चड हिँड्ने बाटोसमेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाको गुनासो छ। प्रदेश सरकारसँगको समन्वयमा निर्माण शुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्यासमेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए। 

सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभई देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याइँ गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले बताए। वार्षिक हजारौँ विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वाधार विकास आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।

फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ। यी पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यमा पुग्न सहज हुने  स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ। ‘पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र  सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ’, होटल व्यवसायी शेर्पाले भने।
 
सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ। काठमाडौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमास्थलमा ओर्लिएका पर्यटक पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्छन्। लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको दूरी झण्डै ६५ किलोमिटर रहेको छ। हेलिकप्टरबाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकलाई पैदलयात्रामार्फत  लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सातदेखि आठ दिन लाग्छ। 
 
सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ। उच्च हिमाली क्षेत्र  भएकाले यो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोच छिचल्दै पर्यटक सगरमाथाको आधार शिविर पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.