|

म्याग्दी : बेनी–दरबाङ सडकलाई  म्याग्दी जिल्लाकै ‘लाइफलाइन’ मानिन्छ। जिल्ला सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किलोमिटर दूरीको यो सडकको ट्र्याक खुलेको करिब दुई दशक हुन लाग्यो।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा २०६३ सालमा सडक पुगेको हो। बेनी–दरबाङ सडकखण्डको बाबियाचौर क्षेत्रसम्म सडक कालोपत्रे भएको छ। 

तर त्यस यताको करिब ७ किलोमिटर सडक भने जोखिम र सास्तीको पर्याय बनेको छ। यसको कारण सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी र त्यसका ठेकेदार बनेका छन्।

यो सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ३ खण्डमा विभाजन गरेर अलग अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए। 

त्यसमध्ये दुईवटा खण्ड कालोपत्रे भइसकेका छन् तर तेस्रो खण्डको जिम्मा लिएको विरुवा–क्याराभान जेभीका ठेकेदार भने काम छाडेर बेपत्ता भएको छ।

बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएको हो। 

सडकको बाँकी अन्य खण्डको कालोपत्रे भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन्। ठेकेदारले विभिन्न बहाना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका थिए।

यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले विसं २०७६ साल जेठ ३१ लिएको थियो। ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन्।

मङ्गला गाउँपालिका–२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ। गत चैत–वैशाखयता निर्माण व्यवसायी निर्माण आयोजना स्थलमा देखिएका छैनन्।

सडक निर्माण नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन्। स्थानीय भन्छन्‚ ‘सरकारभन्दा पनि शक्तिशाली हुन्छन् र ठेकेदार? सरकारले घोक्रेठ्याक लगाएर काममा फर्काउन सक्दैन र ठेकेदारलाई?’

सडक उधारेर र खण्डखण्ड बनाएर ठेकेदार सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताए। 

सडक निर्माण अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका–६ तोलाबाङकी पूर्णकली बिकले गुनासो पोखिन्। 

‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ। बिस्कुन सुकाउन पनि पाइएको छैन। धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ ,’उनले भनिन्। 

पहिरो प्रभावित क्षेत्रबाहेक रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ। ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ।

सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताए। 

‘ठेक्का लिएको लामो समय बितिसक्यो। पहुँचका आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन,’ उनले भने। फोन नउठाउने बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकेता गरेको कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीले ४ किलोमिटरमा सब बेस राखिसकेका छन्। मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरिको यो सडक विसं २०६३ मा खुलेको थियो। 

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि यो सडक प्रयोग गर्छन्। सो खण्डको कालोपत्र योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.