|

काठमाडौँ : पार्टी विभाजनको चोट बोकेर महाधिवेशनमा होमिएको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधव नेपालले भने‚ ‘मिलेर अघि बढौँ।’

२८ देखि ३० जेठसम्म जनकपुरमा चलेको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले त्यस्तो प्रस्ताव गरेका थिए। 

‘हामी सहयात्री हौं। केन्द्र र प्रदेश सरकारमा सँगै थियौं। संसद्‌मा पनि साथै हो। सँगसँगै काम गर्दै आएका हौं। हामी मिलेर अगाडि बढ्नुपर्छ’, उनले भनेका थिए, ‘उपेन्द्र यादवले खुट्टा कमाउनु भएन, जसरी सबै चुनौतीको सामना गर्नुभयो। त्यही बुलन्दीका साथ अघि बढ्नुस्।’ 

अध्यक्ष नेपालको मन्तव्य पार्टी विभाजनसँगै कमजोर बनेको जसपा नेपाल र हतास मनस्थितिमा देखिएका उपेन्द्र यादवलाई सान्त्वना दिने ढर्राको थियो। गत २१ फागुनमा बनेको सत्ता समीकरणमा रहँदै उनै अध्यक्ष यादवसँग मिलेर वैकल्पिक गठबन्धन बनाउन भित्रभित्रै प्रमुख प्रतिपक्षी कांग्रेससँग साँठगाँठ गरेका भनिएका नेपालले पूर्वसहयात्रीसँग मिलेर अघि बढ्ने प्रस्ताव गर्नु अस्वभाविक थिएन। 

तर जसपा नेपालले भने एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रस्तावलाई त्यति स्वभाविक लिएको देखिँदैन। एक कदम अघि बढेर नेपालले आफूहरूलाई ‘सल्लाह दिएको’ भन्दै जसपा नेपालले त्यसको कुनै जरुरत नरहेको बताए। पार्टी प्रवक्ता मनीष सुमन बरु अध्यक्ष नेपाललाई नै एमालेमा फर्किएर त्यहीँबाट विश्राम लिन सुझाउँछन्।  

‘हामीलाई कोसँग मिलेर जानुपर्छ, कोसँग पर्दैन भनेर माधव नेपालजी र अरू कसैले सल्लाह दिइराख्नु पर्दैन। आफ्नै विवेक छ, सिद्धान्त र विचार छ’‚ उनले भने, ‘बरु माधवजीलाई हाम्रो सल्लाह–जानुस्, एमालेमा फर्कनुस्, एमालेकै पाउमा विश्राम लिनुस्।’ 

विचार, सिद्धान्त र कार्यक्रम मिल्नेसँग सामीप्य भने बढाइरहेको प्रवक्ता सुमनले बताए। मधेशका निवर्तमान मुख्यमन्त्री तथा जसपा नेता सरोजकुमार यादवले विश्वासको मत लिँदा आफूहरूलाई साथ दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)प्रति भने जसपा कृतज्ञ छ। त्यस वेला अध्यक्ष यादव स्वयं मुख्यमन्त्रीका लागि सहयोग माग्दै लोसपा अध्यक्ष महन्थ ठाकुरकहाँ पुगेका थिए। 

‘लोसपाले विश्वासको मतको दिन हामीलाई देखाएको सदाशयताले हामी खुसी भएका छौँ’, उनले भने, ‘विश्वासको मत लिइरहँदा देखिएको कांग्रेस, जसपा र लोसपाको गठबन्धन छ, त्यो भोलिसम्म पनि जान्छ। झन् सुदृढ भएर अघि बढ्छ।’ 

तर पार्टी विभाजन भयो भन्दैमा आत्तिएर अरू दलहरूसँग मिलिहाल्ने अवस्थामा आफूहरू नरहेको नेता सुमनले स्पष्ट पारे। महाधिवेशनले पार्टी अझ तंग्रिएर आएकाले कसैको शरण माग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

‘महाधिवेशनले जसपा नेपाल कति बलियो छ भन्ने छनक दिइसकेको छ। उद्घाटन सत्रमा लाखौँको उपस्थिति थियो, ४५ डिग्रीको घाममा पनि नेता कार्यकर्ता र शुभेच्छुक, शुभ चिन्तकहरूको उपस्थिति लोभलाग्दो थियो। महाधिवेशनमा फुटको कुनै छनक पनि देखिएन’, उनले भने, ‘यस्तो अवस्थामा हामी झन् ऊर्जाका साथ अगाडि बढ्नेछौं। जसपा नेपाल तंग्रिएर आएको छ।’ 

जसपा नेपालले आफूलाई बलियो दल दाबी गरिरहँदा लोसपाले पनि विपक्षमा रहनुको नाताले मात्रै २३ जेठमा जसपाका यादवलाई विश्वासको मत हालेको बताएको छ। उपेन्द्रको हैकमवादी र तिकडमवादी क्रियाकलापले अझै एक भएर अघि बढ्ने वातावरण नरहेको लोसपा वरिष्ठ उपाध्यक्ष अकवाल अहम्मद साह बताउँछन्। 

‘हामी संघमा विपक्षमा छौं। त्यसकारण मधेशका पनि विपक्षमा मत हाल्यौं। विपक्षी पार्टी एकजुट हुने कुरा संसदीय प्रणालीको अभ्यास पनि हो’, उनले भने, ‘तर जसपा नेपालसँग फेरि मिल्ने सम्भावना अहिले छैन। उपेन्द्रजीको हैकमवादी‚ तिकडमवादी क्रियाकलापले तालमेल नमिलेको हो। त्यहीकारण हिजो हामी अलग भएका हौं।’ 

एकीकृत समाजवादी अध्यक्ष नेपालले पनि निःस्वार्थ भावले जसपा नेपालसँग मिलेर अघि बढ्ने प्रस्ताव नगरेको नेता साह औंल्याउँछन्। 

‘माधवजीले जसपा नेपालसँग मिलौं भन्नुको पनि उहाँको आफ्नै स्वार्थ हुनसक्छ। किनभने केपीजीसँग उहाँको कुनै तालमेल मिल्दैन। उहाँको चासो प्रधानमन्त्री बन्नेमा छ तर त्यही (वर्तमान सत्ता समीकरण) रहँदा कुनै हालतमा बन्न दिँदैनन्’, उनी भन्छन्, ‘उहाँको गतिविधि कसरी प्रधानमन्त्री बन्ने भन्ने अभ्यास मात्र हो।’ 

एकीकृत समाजवादी भने सिद्धान्त, विचार र उद्देश्य मिल्नेहरूसँग कार्यगत मात्र नभई पार्टी एकतासमेत गर्ने पक्षमा छ। निःस्वार्थ भावले नै जसपा नेपाललाई मिलेर अघि बढ्न आग्रह गर्दा गलत बुझाइ भएको एकीकृत समाजवादी अध्यक्ष जयन्ती राई बताउँछिन्। 

अध्यक्ष नेपालको भनाइबारे उनले भनिन्, ‘कार्यगत पनि हो र सम्भव भए पार्टी एकताको कुरा पनि गर्नुभएको हो। किनभने विचार, सिद्धान्त, कार्यक्रम र उद्देश्य मिल्ने सबैसँग हामी एकता गर्ने पक्षमै छौं। खासगरी वामपन्थी एकता गरेर जानुपर्छ भन्ने हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.