|

रौतहट : नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने रौतहटका तीन दर्जनभन्दा बढी विद्यालयको लाइन काटेको छ। नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखा अन्तर्गत पर्ने विभिन्न नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको हो। 

विद्युत महसुल नतिर्ने रौतहटको चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको हो।विद्यालयको नाममा जडान गरिएका मिटरमा विद्युत् महशुल तिर्न पटक-पटक ताकेता गर्दा समेत वास्ता नगरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले जानकारी दिए।

जिल्लाको चन्द्रपुर नगरपालिका वृन्दावन नगरपालिका र गुजारा नगरपालिकाका ३० वटा बढी सामुदायिक विद्यालयको विद्युत् लाइन काटेको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखाले जानकारी दिएको छ । 

चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया र बतहु माध्यमिक विद्यालय हरशाहलगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत् लाइन काटिएको छ।

नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले सामुदायिक विद्यालयको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रभावित भएका छन्। ४० देखि ४३ डिग्री गर्मीको बेला विद्यालयको लाइन काटिएपछि आफूहरुले कक्षाकोठामा पंखा  चलाउन नपाएको बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरीले बताए। 

रौतहटका अधिकांश सामुदायिक विद्यालयले महशुल नतिरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वर्षौँदेखिको महशुल तिर्न ध्यान नदिएका कारण बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको कार्यालय प्रमुख यादवले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.