|

काठमाडौँ : नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन्।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको मातहतमा प्रतिगुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए।

उनले नेपाली भूमिभित्र नेपालविरुद्ध हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए। उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताए।

पन्तले भने, ‘राष्ट्रिय अनुसन्धानलाई गृह मातहतमा ल्याउनुपर्छ। गृहसँग भएन भने लङ्गडो हुन्छ। हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रतिगुप्तचरी संयन्त्र चाहियो। सानै लेभलमा भए पनि बनाऔँ। आँट गरौँ। प्रधानमन्त्रीको मातहतमा बनाऔँ। हाम्रो देशविरुद्ध यो भूमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरूलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन ? सोच्नुपर्छ। प्रधानमन्त्रीले सोच्नुस्। आँट गर्नुस्। यो विषयलाई गम्भीरतापूर्वक लिनुस्। राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयमा पठाइदिऊँ र प्रतिगुप्तचरी संस्थालाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखौँ।’

बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरूमा राजदूतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

पन्तले भारत, चीन र अमेरिकामा क्षमतावान् व्यक्तिहरूलाई राजदूत बनाएर पठाउनुपर्ने बताए। त्यसैगरी जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदूत बनाउनुपर्ने माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.