|

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ।

सहकारी बचत दुरुपयोगसम्बन्धी छानबिन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो। 

सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीहरुले सो सम्बन्धमा लिखित जानकारी गराएका थिए। सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीव्रता दिने विशेष समितिले जनाएको छ। 

बैठकमा विशेष समितिले दुरुपयोग भएका बचतकर्ताहरुको ५ लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेटसम्बन्धी कार्यक्रम लागू गर्ने बारेमा पनि मन्त्री अधिकारीसँग छलफल गरेको थियो। 

‘आजको बैठकमा हामीले सहकारी मन्त्रालय, विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, बोर्डबाट माननीय मन्त्रीज्यु, सचिवज्युसहितका पदाधिकारीहरुलाई आमन्त्रित गरेर छलफल गरेका छौँ। २० वटा समस्याग्रस्त सहकारीहरुको सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित रुपमा प्रतिवेदन दिनुभएको छ‚’ उनले भने, ‘हामीले काम गरिरहेको अनुसूची १ र २ का गरी २९ वटा सहकारीको सन्दर्भमा सहकारी विभागको तर्फबाट जानकारी गराउनु भएको छ। कम्प्रेहेन्सिव खालको छलफल आज गरेका छौँ र कार्यादेशको बुँदा नम्बर १ बाट अगाडि बढने शिलशिलामा महत्वपूर्ण जानकारी प्राप्त भएका छन्।’

बजेट वक्तव्यमार्फत ५ लाख रकमसम्मका बचतकर्ताको बचत फिर्ता गर्ने विषयमा पनि सहकारीमन्त्रीसँग छलफल गरिएको विशेष समितिका सभापति थापाले बताए।

‘सरकारले बजेट वक्तव्यमार्फत ५ लाख रकमसम्मका बचतकर्ताको बचत फिर्ता गर्ने सन्दर्भमा पनि कार्यक्रम ल्याएको छ। त्यसबारेमा पनि सहकारीमन्त्रीज्युसँग छलफल गरेका छौँ‚’ उनले भने, ‘समग्रतामा आजको छलफलले हामीलाई हाम्रो काम थालनी गरेर अगाडि बढने सन्दर्भमा महत्वपूर्ण आधार र बाटो देखाएको छ। आजको मुख्य काम सहकारी मन्त्रालय हुँदै सबै संबद्ध निकायका पदाधिकारीहरुका कुरा सुनेर विश्लेषण गर्नेमा नै हामी केन्द्रित रहेका छौँ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको बचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै त्यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्न नेपाली कांग्रेसले माग गरेकाले एमाले सांसद थापाको नेतृत्वमा सो विशेष समिति बनाइएको हो। 

विशेष समितिले ३ महिनाभित्रमा आफ्नो काम सक्नेगरी कार्यादेश बनाएको र सोहीअनुसार छलफललाई निरन्तरता दिने सभापति थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.