|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मोहनकुमार बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा गर्ने भन्दा पनि आशा जगाउने गरी काम गर्न सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै बस्नेतले यस्तो सुझाव दिएका हुन्।

मन्त्री श्रेष्ठले केही दिनअघि आफूहरू राजीनामा गोजीमा बोकेर हिँडिरहेको अभिव्यक्ति दिएका थिए।

खेलकुद क्षेत्रमा छुट्याइएको बजेट निराशाजनक रहेको भन्दै बस्नेतले प्रधानमन्त्रीसँग कुरा गरेर बजेट थप्न पनि मन्त्री श्रेष्ठले सुझाव दिए।

‘तपाईंले सरकारसँग कस्सिएर कुरा गर्नुभयो भने बजेट थप हुन सक्छ। उदाहरणका लागि म सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिएँ। बजेट कम भयो। बजेट भाषणपछि १२ अर्ब पैसा मैले थपेर लगेको हो।’ बस्नेतले भने, ‘त्यसकारण निराश हुने कुरा छैन, राजीनामाको कुरा होइन, हिम्मत गरेर अगाडि बढ्नुपर्यो नि यस्तो युवाले।’

बजेट कम भएकाले धेरै ठाउँमा बाँड्न नसक्नु स्वभाविक भएको भन्दै बस्नेतले प्राथमिकीकरणमा मन्त्री श्रेष्ठ चुकेको टिप्पणी गरे। उनले मन्त्री श्रेष्ठले दबाबमा बजेट बनाएको पनि दाबी गरे।

‘गणेशमान सिंह स्मृति पुरुष र महिला बक्सिङ प्रतियोगिताका लागि गत वर्ष ५० लाख छुट्याइएको थियो अहिले तपाईंले झारेर १० लाख पार्नुभएछ।’ बस्नेतले भने ‘मदन भण्डारी स्मृति स्पोर्ट्स एकेडेमीमा ५० लाख थियो दुई करोड बनाउनुभएछ। यो आपत्तिजनक छ। यो दबाबमा बनाइएको बजेट हो। तपाईंजस्तो युवा पनि दबाबमा पर्न थाल्नुभयो भने के हुन्छ मुलुकको अवस्था?’

मुलुकलाई विश्वमा चिनाउने प्रमुख माध्यम नै खेलकुद भएको भन्दै बस्नेतले यसलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.