|

कास्की : कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह बी को अन्तिम खेलमा नवलपुरलाई २ विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो। 

समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँग फाइनलमा भेट पक्का गरेको हो। घरेलु टोली कास्की समूह ए को विजेता बन्दै यसअघि नै फाइनल पुगिसकेको छ।

प्रतियोगिताको फाइनल बिहीवार हुने आयोजकले जनाएको छ। 

स्याङ्जासँगको खेलमा टस जितेर शुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रन, कमल परियारले २२ बलमा १८ तथा सुदिप अर्यालले १२ रनको योगदान दिए। 

बलिङतर्फ स्याङजा ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्री र अङ्कित न्यौपानेले २/२ विकेट लिए।

७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभरसम्म कुर्नुपर्‍यो। स्याङजाले १६ ओभरको दोस्रो बलमा ८ विकेट गुमाउँदै ७९ रन बनायो। 

स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए। इश्वर क्षेत्रीले २९ बलमा २१ तथा प्रदिप पाण्डेले अविजित ११ रन बनाए।

बलिङतर्फ नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए। दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए। 

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद र उपविजेताले ५० हजार रुपैयाँ नगद पाउनेछन्।

प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको छ। प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.