|

काठमाडौँ : सर्वोच्च अदालतले सिधा कुरा अनलाइनविरुद्ध अवहेलना मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले मुद्दाको निरुपण बढी न्यायाधीश सम्मिलित इजलासबाट हुन उपयुक्त देखिएकाले पेशी व्यवस्थापन निर्देशक समिति समक्ष पेश गर्न आदेश दिएको हो। 

समितिले त्यस मुद्दामा कति न्यायाधीशको बृहत् पूर्ण इजलास तोक्ने भनेर निर्णय गर्नेछ। आदेशमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट यसअघि टुंगो लागेको उल्लेख गर्दै बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद समाधान गर्नुपर्ने भनिएको छ।

पाँच वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलास बृहत् पूर्ण इजलास हो। तथ्यपरक एवं सत्य साँचो विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षको समेत निर्देशन हुनुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले उक्त मुद्दाको निर्णय बढी न्यायाधीश सम्मिलित इजलासबाट हुन उपयुक्त देखिएको जनाइएको छ। 

फैसलामा भनिएको छ, 'प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप मोबाइल फोनमा डाउनलोड गरिएको, विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सिर्जित भएको भनिएको छ। उक्त कार्यले सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चारक्षेत्र एवं सम्मानित व्यक्तित्वहरूउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन भन्ने महत्त्वपूर्ण सवालको निरुपण हुनुपर्ने देखिन्छ।'

सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनले सिधा कुरा डटकम, त्यसका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा लगाइएको छ। न्यायाधीशद्वय चुडाल र शर्माको इजलासले जेठ ३० मा गरेको आदेश सर्वोच्च अदालतले आज बिहीवार सार्वजनिक गरेको हो।

यसअघि सर्वोच्चले सिधा कुरामा प्रकाशित श्रव्यदृश्यको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.