काठमाडौँ: मकवानपुर फापरबारीका अर्जुन नेगी (३७) २०७४ बैशाख २३ (मे ६) मा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडे। हातमा थियो, तीन महिने दुबईको भिजिट भिसा अनि मनमा अनेकौँ रहरहरू।
धेरै लगानी गरेर गएर भिजिट भिसामा गएपछि धेरै पैसा कमाउन सकिन्छ भन्ने थियो उनलाई। मनमा परिवारको आर्थिक अवस्था उकास्ने अनेकौँ सपना पनि थिए।
तर जब उनी दुबईको सारजहा एयरपोर्टमा ओर्लेर बस्ने कोठामा पुगे, त्यहाँ पुगेदेखि नै मनमा आशंका बढ्न थाल्यो। ठमेलस्थित अर्थलाइन ट्राभल्सका पवित्र अधिकारी र जानकी अधिकारीमार्फत् अर्जुन दुबई पुगेका थिए। नगद दुई लाख ७० हजार रुपैयाँ एजेन्सीलाई बुझाएका अर्जुनलाई स्विमिङ पुलका लागि वाटरगार्डका रूपमा काम गर्ने भनिएको थियो। त्यसका लागि सुरुमा एक महिना तालिम गर्नुपर्ने थियो।
एक महिनापछि एक हजार ८०० दिराम तलब पाउने भनिएको थियो उनलाई। तीन महिनापछि तालिम पाइसकेपछि कम्तिमा पनि मासिक ५० हजार नेपाली रूपैयाँ बचाउन सकिने हिसाब गरे उनले। सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ बचाउन सकिने भनेपछि अर्जुन भिजिट भिसामा जानका लागि तयार भए।
तर एयरपोर्टबाट ओर्लेर कोठामा गइसकेपछि त्यहाँको दृष्य फरक थियो। केही दिन गाह्रो हुनसक्छ बस्नका लागि भनिएको थियो। तर कोठामा पुग्दा एउटा कोठामा २३ जनाभन्दा बढी मान्छे खोरमा कुखुरा राखेझैँ कोचिएको थियो। खान, बस्नको व्यवस्था निकै कष्टपूर्ण थियो।
एयरपोर्टमा रिसिभ गर्ने भनिएका साजन पाण्डे उर्फ प्रेम पाण्डेले अर्जुनहरूलाई रिसिभ गरेका थिए। तिनै प्रेमले केही दिनमा तालिममा लगाए। कहिले स्विमिङ पुलमा त कहिले समुद्रमा लगिन्थ्यो। पहिले पनि दुबई गएको हुनाले अर्जुनसँग पहिलेको पासपोर्टको आधारमा श्रम स्वीकृति दिइएको थियो। तर त्यो श्रम स्वीकृति सही भए पनि कम्पनी भने गलत रहेछ।
बिस्तारै प्रेम पाण्डेले युवाहरूलाई कुटपिट गर्न थाले। समयमा तालिममा नपठाउने, एक दिन पठाएपछि तीन दिन नपठाउने। रातमा रक्सी खाएर आएर नेपालबाट गएका युवाहरूलाई कुटपिट गर्ने, छाडा शब्दले गाली गलौज गर्ने, रातको २/३ बजे सुतेको ठाउँबाट उठाएर दौडन पठाउने। मारेर फालिदिन्छु भन्ने गर्न थाले पाण्डेले।
'एक महिनापछि आउँछ भनेको तलब पनि आएन। केटाहरूलाई विना कारण नै कुट्ने गर्न थाले। तालिममा पनि नलैजाने। हामी जान्छौँ, भाडा दिनुस् भन्दा पनि नदिने गरे। धम्की, त्रास दिएर यातना दिइयो', अर्जुनले भने, 'बढी नै भएपछि हामीले दूतावासमा खबर गर्यौँ। दूतावासले आफ्ना देशका दाजुभाइलाई लिएर यस्तो अलपत्र पार्ने भनेर चेतावनी दियो।' तर पनि प्रेमले उस्तै व्यवहार गरेपछि आफू नेपाल फर्किएको उनले बताए।
अर्जुन जस्तै भिजिट भिसामै इटहरीका सुरेश चौधरी पनि जुन २ (१८ जेठ)मा दुबई उडेका हुन्। अर्थलाइन ट्राभल्सकै जानकी अधिकारीमार्फत् दुबई पुगेका सुरेशलाई पनि वाटर गार्डको काम गर्ने भनिएको थियो।
गाउँकै एजेन्टमार्फत् प्रक्रिया अगाडि बढाएका सुरेशले आफूलाइ पहिले भिजिट भिसा नभनिएको बताए। भिसा आइसकेछि मात्र भिजिट भिसा भन्ने उनले थाहा पाएका थिए। 'भिसाका लागि भनेर ५० हजार रूपैयाँ पहिले दिएँ। भिसा आइसकेपछि मात्र भिजिट भन्ने थाहा भयो', उनले भने, 'मैले भिजिटमा जान्न पनि भनेँ। तर जाने एक दिन बाँकी रहँदा ट्राभलको मान्छेले यसमा समस्या हुँदैन, सबै ठाउँमा हाम्रो सेटिङ हुन्छ भन्यो। त्यहाँ हाम्रो मान्छे छ, मेरै छोरा पनि छ भन्यो।'
कोठामा पुग्दा आफूसँगै गएकाहरू मात्र नभएर ४०/५० जनाको समूह थियो। सबै नेपालीको। पछि जुन ५ मा केही नेपालीहरू थपिए। सबैको समस्या उस्तै। जुन कम्पनीका लागि लगिएको थियो, त्यसमा ६/७ महिना पहिले नै सम्झौता सिद्धिसकेको सुरेशले बताए।
सुरेशले साढे तीन लाख बुझाएर गएका हुन्। 'मलाई दुई हजार ५०० दिराम हुन्छ तलब भनिएको थियो। तर त्यहाँ जाँदा पैसा पनि एक हजार २०० दिराम मात्रै रहेछ', सुरेशले भने।
सल्यानका पूर्णबहादुर पुन (३४) पनि अर्थलाइन ट्राभल्समार्फत् नै दुबई पुगेका हुन्। गाउँका चन्द्रबहादुर बुढाथोकीमार्फत् ट्राभल्सको सम्पर्कमा पुगेका उनले तीन लाख १० हजार रूपैयाँ बुझाएर दुबई उडेका हुन्। अंग्रेजी बोल्न जान्ने, एसएलसी पास गरेको, पौडी खेल्न जान्ने। यी तीन सर्तमा उनीहरू महँगो पैसा तिरेर कामका लागि दुबई गएका हुन्।
एयरपोर्टमा जाँदा बोर्डिङ पास दिने क्रममा नै कर्मचारीले रोकेपछि पूर्णबहादुरलाई शंका नलागेको होइन। 'एयरपोर्टमा भिजिटमा जानेको छुट्टै र वर्किङ भिसामा जानेहरूको लाइन छुट्टै हुनेरहेछ', उनले भने, 'हामी भिजिटवालाको लाइन छुट्टै थियो। तर बोर्डिङ पास दिने क्रममा हामीलाई रोकियो।' उनले त्यसपछि कर्मचारी अन्तै गएर कुरा गर्न थालेको र ट्राभलमा फोन गरेर मिलाएको बताए। 'त्यही बेला सेटिङ रहेछ भनेर शंका लागेको थियो मलाई', उनले भने।
उनीहरू अहिले नेपाल फर्किएका छन्। दूतावासमा र दुबईमा रहेका केही व्यक्ति र पत्रकारहरूको सहयोगमा १४ जना नेपाली युवाहरू मंगलबार नेपाल फर्किएका हुन्। त्यसमध्ये हरेक व्यक्तिसँग तीनदेखि पौने चार लाख रुपैयाँसम्म लिइएको छ। एक जनाबाहेक अरू कसैसँग श्रम स्वीकृति छैन। श्रम स्वीकृति गरिएका एक जनाको पनि कम्पनी गलत देखिएको छ। फर्किंदा अध्यागमन विभागले अनुसन्धानका लागि भन्दै उनको पासपोर्ट राखिदिएको छ।
क्षतिपूर्तिसहित कारवाहीको माग
राम्रो लगानी गरेर गएपछि राम्रो कमाइ हुन्छ भनेर भिजिट भिसामा गएका १४ जना युवाहरू अहिले एयरपोर्ट नजिकैको एउटा होटेलमा बसेर न्यायको माग गरिरहेका छन्। उनीहरूसँग न त पैसा छ, न कुनै सहयोग गर्ने निकाय नै।
बर्दियाका चन्द्रबहादुर डाँगी (२९) आफूहरू भिजिट भिसाका कारण ठगिएकाले यस्ता कार्य बन्द गराउनुपर्ने बताउँछन्। 'हामीलाई यति अन्याय गरियो कि गोठमा बाख्रा हुलेझैँ हुलियो। कुटपिट, गालीगलौज त कति हो कति', उनले भने, 'प्रेम पाण्डेले पोल्ट्री फार्ममा कुखुरा राख्दा १/२ जना मर्छन्, तिमीहरू १/२ जना मरे पनि केही हुँदैन भने।'
आफूहरूले पनि प्रतिवाद गर्न नसक्ने भएपछि बाध्यात्मक अवस्थाका कारणले अन्याय सहेर बस्नुपरेको उनले बताए। 'हामीले प्रतिकार गर्न सक्थ्यौँ तर हामी बाध्यतामा थियौँ। जाँदा लगेको एक हजार डलर पनि बुझाइसकेका थियौँ', उनले भने, 'हामीसँग एक रूपैयाँ पनि थिएन। कसैसँग सम्पर्क पनि थिएन।' चन्द्रबहादुरले बस्न सक्ने वातावरण नभएपछि कि मर्छौं, कि बाँच्छौँ भन्ने भएपछि फिर्ता आएको बताए।
उनीहरूका माग तीनवटा छन्। एउटा, आफूले बुझाएको पैसा फिर्ता आउनुपर्यो। दोस्रो, आफूलाई फसाउने दलाललाई कारवाही गर्नुपर्यो। तेस्रो, भिजिट भिसाका नाममा विदेशमा नेपाली लगेर दुःख दिने कार्यको अन्त्य हुनुपर्यो।
ऋण काढेर पैसा कमाउने आशमा विदेश गएर फर्किएका यी युवाहरू न्यायका लागि कानुनी प्रक्रियामा जाने बताउँछन्। 'हामीलाई परेको अन्यायको क्षतिपूर्ति पाउनुपर्छ। हाम्रो अहिलेसम्म भएको लगानीको पैसा फिर्ता आउनुपर्यो', अर्जुन नेगी भन्छन्, 'दोषीलाई कारवाही हुनुपर्यो।'
भिडियो/तस्वीरहरू:
तपाईंको ईमेल गोप्य राखिनेछ ।