|

ललितपुर : चीनमा जारी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपमा नेपालले ३ कास्य पदक जितेको छ। 

हेलोङझियाङ प्रान्तको राजधानी हरबिन सहरमा आयोजित सो प्रतियोगितामा नेपालबाट सहभागी भएका ४ मध्ये ३ खेलाडीले कास्य पदक जितेका हुन्। 

जुन २४ तारिखसम्म चल्ने सो उसु च्याम्पियनसिपमा महिलातर्फ निमा घर्ती मगर र जुनुसाङ्बो लामाले १–१ कास्य पदक जित्दा पुरुषतर्फ सुनिल शिरीष मगरले कास्य पदक आफ्नो नाममा लेखाए। 

निमाले थाउलो विधा अन्तर्गत महिला नानकुन इभेन्ट्स र जुनुसाङ्बोले थाउलो विधा अन्तर्गत नै महिला छेन्सु छवाङमा कास्य पदक जितेको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। 

उनका अनुसार सान्सौं विधा अतर्गत पुरुष ५६ केजी समूहमा सुनिलले कास्य पदक जिते। अर्का खेलाडी विजय सिंजालीले भने पदक जित्न सकेनन्। 

नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले खेलाडीको उत्कृष्ट प्रदर्शनको उच्च कदर गर्दै उनीहरूलाई बधाइ दिएका छन्। 

महासंघका सचिव निकेश श्रेष्ठले महासंघको पहलमा यो वर्ष मात्रै उसुबाट धेरै पदक ल्याउन सफल भएको बताए।  

उसुको एसियन च्याम्पिनसिप सेपटेम्बरमा मकाउमा हुँदैछ । चीनको यो प्रतियोगिताले एसियन च्याम्पिनसीपलाई सघाउ पुर्‍याएको महासंघका सचिव निकेश श्रेष्ठ बताए।  

आगामी अक्टोबरमा उसुको थाउलोतर्फको विश्वकप जापानमा हुँदैछ। यसमा पासाङ शेर्पा र विजय सिंजालीले सहभागिता जनाउँदैछन्। 

यसैगरी आगामी नोभेम्बरमा अष्ट्रेलियामा उसुको सान्सौं विधा अन्तर्गत पुरुष ८० केजी तौल समूहमा सञ्जीव मर्हजन  र महिला ५६ केजी तौलसमूहमा विद्या गुरुङले प्रतिस्पर्धा गर्दैछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.