|

काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतवार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको बताए। उनले ग्रामीण क्षेत्रमा बैंक र सहकारी छुट्टै भने पनि कारोबारसँग अन्तरसम्बन्ध रहेको बताए।

उनले बैंकहरूमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको दाबी गरे। गभर्नर अधिकारीले बैंकहरूलाई पारदर्शी बनाउन बैंकहरूको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको बताए। उनले अर्थतन्त्रमा मन्दी र राष्ट्रबैंकको प्रभावकारी नियमन लगायतको असर बैंकको खराब कर्जामा परेको बताए। उनले पछिल्लो समय अर्थतन्त्र मन्दी हुनुमा सहकारीको ठूलो भूमिका रहेको दाबी गरे।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो रहेको भन्दै राज्यले तीनखम्बे अर्थनीति लिएसँगै सर्वसाधारणको विश्वास सहकारीप्रति बढेको बताए। उहाँले स्वनियमन र अनुशासनमा चल्नुपर्ने सहकारीहरू बैंक जस्तै गरी अगाडि बढ्दा समस्या भएको बताए। उनले सरकारले सहकारीलाई नियमन र सुपरीवेक्षण गर्ने छुट्टै विशिष्टीकृत निकाय बनाउन बहस भए पनि अहिलेसम्म बन्न नसक्दा समस्या बढ्दै गएको बताए।

उनले सहकारी नियमनका लागि विशिष्टीकृत दोस्रो दर्जाको नियमनकारी निकाय आवश्यक रहेको भन्दै नियमनकारी निकाय तत्काल खडा गरी सहकारीहरूको सुपरीवेक्षण गर्न जरुरी रहेको बताए। 

गभर्नर अधिकारीले भने, ‘सहकारीको विषयमा सोच्न अवेला भइसकेको छ। अर्थतन्त्र स्लोडाउन हुनुमा सहकारीको ठूलो रोल छ। मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो छ। राज्यले तीनखम्बे अर्थनीति लिएसँगै सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा बनाएपछि सर्वसाधारणको विश्वास सहकारीमा भयो। सहकारी नियमनका लागि विशिष्टीकृत दोस्रो दर्जाको नियमनकारी निकाय चाहिन्छ। समस्याग्रस्त सहकारी नियमन गर्न छुट्टै व्यवस्थापन टिम चाहिन्छ। त्यसको भोलिपल्ट बचतकर्ता सहकारी विभाग र मन्त्रालयमा आउँदैन। नियमन गर्ने टिमसँग जान्छ। समग्र सहकारीको नियमनको लागि विशिष्टीकृत दोस्रो दर्जाको नियमनकारी निकाय खडा गरौं।’

उनले बैंकहरूको जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन गर्न एसेट म्यानेजमेण्ट कम्पनी बनाउने ठूलो मेहनत चाहिने बताए। उनले त्यसका लागि धेरै खालका समन्वय र प्रतिबद्धता आवश्यक पर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.