गिरिबन्धु टि स्टेट‚ बाल मन्दिर‚ बाँसबारी‚ स्काउट‚ भुटानी शरणार्थी‚ जनकपुरको ९ हजार बिघा जग्गा‚ पतञ्जलीको फाइल खुल्दै

|

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेशियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको दावी गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेशियामा रहेको तथ्य पत्ता लागेको र उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेशियाका गृहमन्त्रीसँग दुईपटक कुराकानी गरिसकेको बताए। 

‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी (जीबी राई) मलेशियामा रहेको तथ्य पत्ता लगाएका छन्। उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुईपटक टेलिफोनमा कुराकानी गरेको छु‚’ उनले भने‚ ‘दुवैतर्फका राज्यस्तरीय संयन्त्र संवादमा छन् र कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने जानकारी गराउन चाहन्छु। नेपाल र मलेशियाबीच सुपुर्दगी सन्धी नभए पनि मलेशियाको सुपुर्दगी ऐनअन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्थाअन्तर्गत निरन्तर काम भइरहेका छन्।’

उनले कानूनी माध्यमबाट नै समस्या हल गर्नुपर्ने भन्दै दुवैतर्फका राज्य संयन्त्र संवादमा रहेको बताए। उनले संवादको क्रममा मलेशिया सरकार सकारात्मक देखिएको र माग गरेअनुरूपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए। 

‘मलेशियाका गृहमन्त्रीसँगको दुईपटकको वार्ता जसमा सकारात्मक जवाफ मलेशिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरु पठाउने क्रमको निरन्तरता, जीबी राईको राहदानी खारेजी प्रक्रिया अगाडि बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानूनी प्रावधानअनुसार अन्य जटिलता यसका कारणहरु हुन्‚’ उनले भने।

उनले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउन राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतीक्षाको विषय बनेको बताए। उनले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए।

‘तर प्रयास निरन्तर जारी छ। जीबी राईलाई ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ‚ प्रतिबद्ध छ‚’ उनले भने‚ ‘निरन्तर लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रुपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतीक्षाको विषय हो। केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कूटनीतिक सम्बन्धमार्फत जीबी राईलाई ल्याउन सरकार सफल हुनेमा म पूर्ण विश्वस्त छु।’

गिरिबन्धु टि स्टेट

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरी कुरेर बसेको बताए। उनले उजुरी आएपछि कुनै पनि वेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए।

‘नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टि स्टेटबारे उजुरी माग्न सदनमा कुरा उठ्नुभन्दा हप्ता दिनअगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ‚’ उनले भने‚ ‘कुनै पनि समय, कुनै पनि वेलादेखि भएका विभिन्न किसिमका यि घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर छ। कुनै पनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन। यो कुरा म स्पष्ट पार्न चाहन्छु।’

बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उनले बताए। उनले बाँसबारीको फाइल बन्द नभएको र टीकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताए। उनले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताए।

‘भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ। बालमन्दिरको फाइल बन्द भएको छैन। स्काउटको फाइल बन्द भएको छैन। बाँसबारीको फाइल बन्द भएको छैन, खुलिसकेको छ‚’ उनले भने‚ ‘टीकापुरको फाइल खुलिरहेको छ‚ काम भइरहेको छ त्यसमा।’

मन्त्री लामिछानेले वृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताए।

‘बृहत जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ‚’ उनले भने‚ ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान गर्न २५ वटा पुराना फाइलहरु एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने बजेटको व्यवस्था यसैपटकको बजेटमा व्यवस्था भएको छ।’

उनले पतञ्जली आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको जानकारी पनि दिए। गृहमन्त्री लामिछानेले बजेट पास भएको २ महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताए।

‘बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्न एउटा शक्तिशाली आयोग बन्न लागेको जानकारी गराउन चाहन्छु‚’ उनले भने‚ ‘भर्खरै अर्को फाइल खुलेको छ। पतञ्जली आर्युवेद कम्पनीको फाइल आजैबाट खुलेको सदनलाई जानकारी गराउन चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.