|

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरिन्।

सांसद बिना लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विषय उठाउँदै मुख्यसचिव नियुक्ति प्रक्रिया नै शङ्काको घेरामा रहेको बताइन्।

सांसद विनिताकुमारी सिंहले मनसुन सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका घटना बढेका उल्लेख गर्दै विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

सांसद बिना जैसवालले सञ्चारमाध्यमले विभिन्न समस्या उठाइरहेका भए पनि सरकारी निकायले ती विषयमा अनुसन्धानका काममा गति दिन नसकेको बताइन्। सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन नसकेको र विद्यमान ऐन, कानुनको उचित पालना हुन नसकेको विषय उनले संसदमा उठाइन्।

सांसद श्यामकुमार घिमिरेले वीर अस्पतालमा जनशक्ति अभावका कारण अति सघन कक्षका शैयया सञ्चालनमा आउन नसकेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए। उनले देशभरका सरकारी अस्पतालमा जनशक्ति अभाव रहेको बताए।

सांसद शान्ति विकले मुलुकको सार्वजनिक ऋण रु २४ खर्बभन्दा बढी पुगेको उल्लेख गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ बिआरआईबाट ऋणभन्दा पनि अनुदान लिनुपर्ने धारणा राखिन्।

सांसद शान्ति श्रेष्ठले बागमती करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक निर्माणको काम रोकिएकामा त्यसलाई समयमै सम्पन्न गर्न माग गरिन्। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र सौन्दर्यकरणका काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

सांसद शिव नेपालीले यातायात व्यवसायीले भोग्नुपरेका समस्या संसद्मा उठाए। सांसद शेरबहादुर कुँवरले वर्षायाममा बाढी, पहिरोका कारण बिजुलीका खम्बा ढल्ने र करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेकमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा यसले समस्या निम्त्याएकाले परिचयपत्र बनाउन गाउँगाउँमा टोली खटाउन उनले सरकारसँग माग गरे।

सांसद शोभा ज्ञवालीले देशभर बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन तथा घरबास गुमाएकालाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद सन्तोष चालिसेले देशभरि बाढी, पहिरोको जोखिम बढेकाले दैवी प्रकोप नियन्त्रण, राहत तथा उद्धारका काम प्रभावकारी बनाउन माग गरे। वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्न जग्गा अधिग्रहण गरिएको भए पनि त्यसको थप काम अघि बढ्न नसकेको उनले बताए।

सांसद सम्झना थपलियाले सिरहा र धनुषाका किसानले सुनकोशी मरिन डाइभर्सनबाट सिँचाइ सुविधा पाउन नसकेको विषय संसद्मा उठाइन्।

सांसद सरस्वती बजिमयले वर्षायाम सुरु भएसँसै सडक अवरुद्ध भएको, धनजनको क्षति भएको तथा जोखिममा रहेका बस्ती स्थानान्तरण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सरिता भुसालले हुलाकी राजमार्ग निर्माणको काम अधुरै रहेकामा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका विभिन्न आयोजनामा जग्गाको विवाद र समस्या रहेको विषय उठाउँदै स्थानीयको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

सांसद सीता मिजारले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तिवको भावनाअनुसार काम हुन नसकेको र संविधानले परिकल्पना गरेअनुसार सङ्घीयता कार्यान्वयनमा अझै समस्या रहेको बताइन्।

सांसद सुशीला सिर्पाली ठकुरीले रजस्वला भएका महिलामाथिको विभेद अझै हट्न नसकेको विषय संसद्मा उठाइन्। यस्ता कुरीति हटाउन र सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न उनले सरकारसँग माग गरिन्।

सांसद सूर्यकुमारी श्रेष्ठले कोदोखेती बढाएर यसको उत्पादनलाई ब्राण्डिङ गर्न सरकारलाई सुझाव दिइन्। सांसद सूर्यप्रसाद ढकालले काठमाडौँ उपत्यकाका तीन जिल्लाको सवारी जाम व्यवस्थापन गर्न गृह मन्त्रालयको कस्तो योजना छ भन्दै सरकारसँग प्रश्न गरे।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्युठानका स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सरकार गम्भीर नदेखिएको बताए।

सांसद सूर्यमान तामाङ दोङले वर्षेबाली लगाउने बेलामा किसानले मल नपाएको उल्लेख गर्दै समयमै मल आपूर्ति गर्न माग गरे। सांसद सञ्जयकुमार गौतमले बर्दियामा बाढी र डुबानको समस्या व्यवस्थापन गर्न पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए। सांसद हर्कमाया विश्वकर्माले संसद्मा सांसदहरूले उठाएका विषयबारे सरकार र मातहतका निकाय गम्भीर हुन नसकेको बताइन्।

सांसद हितराज पाण्डेले गोरखाको अजिरकोट गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माण र सहरी पूर्वाधार निर्माण गरिनुपर्ने बताए। सांसद हृदयराम थानीले विभिन्न स्थानीय तहका स्वास्थ्य कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए।

सांसद ज्ञानु बस्नेत सुवेदीले एसइई परीक्षामा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी मात्र कक्षा ११ मा पढ्न पाउनेगरी उत्तीर्ण भएकामा नतिजामा समस्या देखिएकाले त्यसलाई सच्याउन माग गरिन्। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोशीटप्पु बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाइनुपर्ने माग गरे।

सांसद विनोदकुमार चौधरीले चितवनको वाल्मिकी आश्रम क्षेत्रमा सडक, विद्युत् लगायतका अत्यावश्यक पूर्वाधार बन्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.