|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बीचको अन्तर स्पष्ट पार्न माग गर्नुभएको छ । 

बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरूले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्।

उनले नेपालमा बिआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए। अमेरिकाले चिन विरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई छ। उनले बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्न नहुने बताए। 

‘अहिलेकै सत्ताधारी साथीहरूले एमसीसी ल्याउँदा धुन्धान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडि उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?’ उनले भने, ‘चिनसँग सैद्धान्तिक, राजनीतिक रुपमा हाम्रो पनि केही असहमति छ । नेपालको सन्दर्भमा यदि त्यो बिआरआईको ऋण चर्को ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने । एमसीसी भनेको नेपाललाई इन्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ? त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बिआरआई बिचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ।’

उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.