|

नेपालगञ्ज : नेपाली सेनाले बाँकेमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ७ सयले स्वास्थ्य परीक्षण गराएका छन्।

राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा ६७० जनाले स्वास्थ्य जाँच गराएका छन्।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताए। 

“यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरैजसो महिला, बालबालिका र ज्येष्ठ नागरिक हुनुहुन्छ‚” उनले भने, “यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने भएकाले हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ।”

गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा नशा तथा हाडजोर्नी, स्त्री रोगसम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरोलगायत रोगहरूको जाँच गरिएको थियो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए। 

उनले उक्त शिविरबाट शहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित विरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताए।

शिविरमा ३३८ जना महिला, २८२ जना ज्येष्ठ नागरिक र ५० जना बालबालिकाले स्वास्थ्य जाँच गराएको जानकारी गणपति श्रेष्ठले दिए। 

श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पुर्‍याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरलाई प्रसंशापत्र प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.