काठमाडौँ : प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको १८ महिनामा देशले दोस्रो प्रधानमन्त्री पाउँदै छ। चुनाव लगत्तै १० पुस २०७९ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाए लगत्तै नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने तयारी भएको छ।
प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को चालु १८ महिने कार्यकालमा दोस्रो प्रधानमन्त्री बन्न लागेका छन्। ओलीले प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दावी पेस गरिसकेका छन्।
आइतवार राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथग्रहण गराउने तयारी छ। कांग्रेस र एमालेका शीर्ष नेताहरूले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति पौडेलसमक्ष १६६ सांसदको हस्ताक्षर बुझाएका छन्। आइतवार दिउँसो प्रधानमन्त्रीको नियुक्ति र शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारको नेतृत्व गर्ने एमाले र सहभागी हुने कांग्रेस मन्त्री छान्न व्यस्त बनेका छन्। प्रधानमन्त्रीमा नियुक्त हुन लागेका एमाले अध्यक्ष ओलीले मन्त्री छान्न सचिवालय सदस्यहरूसँग बालकोटमा छलफल गरेका छन्। पार्टीले पाउने ८ मन्त्रालयमा मन्त्री बन्ने आकाङ्क्षीहरू धेरै भएपछि नाम टुङ्गो लाग्न सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।