|

कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिकाबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडक (कर्णाली करिडोर)को ट्र्याक खोल्ने कार्य अहिले तीव्र गतिमा भइरहेको छ।

यसै गतिमा काम भएका कर्णाली करिडोर सडक निर्माण कार्य अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ। 

कडा चट्टानयुक्त भूबनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको जटिलताबीच यो सडकको ट्र्याक खोल्ने कामलाई नेपाली सेनाले विगत डेढ वर्षदेखि जारी राखेको छ।

कर्णालीको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहुँच पाउनेछ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो पनि खुल्नेछ। 

यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा राखेको हुम्लाका सांसद तथा पूर्व मन्त्री जीवनबहादुर शाहीले बताए। ‘कर्णालीको मुहार फेर्ने अपेक्षा कर्णाली करिडोरबाट गरेका छौँ’, उनले भने, ‘त्रिदेशीय व्यापार र पर्यटनमा यसले महत्त्वपूर्ण योगदान दिनेछ।’

नेपाली सेनाले निर्माण कार्यको जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिसकिएको र अहिले कालीकोटको राताडाँडा तथा बाजुराको कालाभीर, रूपाखोलालगायतका स्थानमा थप २० किलोमिटरको ट्र्याक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायक रथी उद्धव विष्टले बताए।

‘चालू आर्थिक वर्ष २०७३/०७४ भित्र कालीकोटअन्तर्गतको ४० किलोमिटर ट्र्याक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको थियो। निर्माण कार्य पूरा भएको छ’, उनले भने, ‘तर बुझाइएको भने छैन।’ उनले यो सडक निकै तीब्र गतिमा निर्माण भइरहेको र अबको एक वर्षभित्र नै निर्माण कार्य पूरा हुने बताए।’ 
वि. सं. २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रूपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्र्याक खोल्ने जिम्मा दिएको थियो।

१९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ। त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ।

यो करिडोरको प्रस्थान विन्दु खुलालु ७३० मिटर उचाइमा अवस्थित छ र सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा सडक पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.