|

काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कागज कीर्ते प्रकरणमा राज्यव्यवस्था समितिले आन्तरिक अध्ययन गर्ने भएको छ। सेनापतिले जन्ममिति सच्याएको विषय संवेदनशील भएको भन्दै यस विषयमा अध्ययन गरिने सांसदहरुले बताएका छन्।

प्रधान सेनपाति क्षेत्रीले एक वर्ष उमेर सच्याएको समाचार शनिबार सार्वजनिक भएको थियो। १ मंसिर २०१६ मा जन्मिएका क्षेत्रीले प्रधानसेनापति हुन प्रवेशिका परीक्षा एसएलसीको मार्कसिट र प्रमाणपत्रमा १ मंसिर २०१७ बनाएको खुलासा भएपछि संसदको राज्य व्यवस्था समितिले गम्भीर ध्यानाकर्षण भएको बताएको हो। ‘सेना हाम्रो समितिको क्षेत्राधिकार भित्र पर्छ। मिडियामा सेनापतिले उमेर सच्चाएको विषय आएको छ समिति सचिवालयले विषय नोटिस गरेको छ,’ समिति सचिव एवं संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

संसदको नियमावलीको नियम १७६ अनुसार सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक निर्देशन वा राय दिने काम राज्य व्यवस्था समितिको हो। समितिको क्षेत्राधिकारमा गृह, रक्षा र सामान्य प्रशासन मन्त्रालय पर्छन्। यस्तै लोकसेवा आयोग  र निर्वाचन आयोग पनि समितिको क्षेत्राधिकारभित्र पर्छन्।

प्रधानसेनापति हुनका लागि उमेर सच्याउनु गम्भीर र निकै संवेदनशील विषय भएकाले समितिले आवश्यक अध्ययन गर्ने समितिका सदस्यहरु बताउँछन्। नेपाली कांग्रेसका सांसद अर्जुनप्रसाद जोशीले यो गम्भीर विषय भएकाले समितिले आन्तरिक अध्ययन गरी यथासिघ्र निष्कर्षमा पुग्ने बताए। ‘जागिरको लागि उमेर सच्याउनु गहन विषय हो', उनले भने,‘ मिडियाले उठाएको विषयमा गम्भीरतापूर्वक छलफल र अनुसन्धान हुनुपर्छ, समितिले वास्तविकता बुझ्नुपर्छ।’

राज्य व्यवस्था समितिमा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले पनि यस विषयमा प्रधान सेनापतिले उन्मुक्ति नपाउने बताएका छन्। एमाले सांसद गंगालाल तुलाधरले संवेदनशील विषय भएकाले समितिले छिट्टै छलफल गर्ने र तथ्य फेला परे सेनापतिलाई उन्मुक्ति नदिने थाहा खबरलाई बताए। ‘जुन ग्राभिटीका साथ कुरा उठेको छ त्यसको छलफल गर्छौं, मिडियाले सार्वजनिक गरेको तथ्य प्रमाणित भए सेनापतिलाई उन्मुक्ति दिने कुरा हुँदैन। सार्वजनिक भएका तथ्य प्रमाणित नभए उहाँले उन्मुक्ति पाउनुहुन्छ,’ तुलाधरले भने।

यस्तै नेकपा माओवादी केन्दैका सांसद महेन्द्रबहादुर शाहीले पनि समितिले सेनापतिलाई उन्मुक्ति नदिने प्रष्ट पारे। ‘उमेर सच्चाएको विषय उठेको छ', उनले भने,’ समितिले सेनापतिलाई उन्मुक्ति दिने भन्ने कुरा आउँदैन। छलफल मार्फत निष्कर्षमा पुग्छ।’

समिति सभापति दीलबहादुर घर्तीले भने सेनापति प्रकरणबारे आफू बेखबर रहेको बताएका छन्। यद्यपी विषयको बारेमा जानकारी लिई समितिमा आवश्यक छलफल गर्ने उनको भनाई छ। ‘म अहिले बाहिर छु', उनले थाहा खबरलाई भने,‘विषयको जानकारी लिई समितिमा छलफल गर्छु।’

प्रधानसेनापति क्षेत्रीले एसएलसीको मार्कसिट र प्रमाणपत्रमा एक वर्ष उमेर घटाएको तथ्यसहितको समाचार खोज पत्रकारिता केन्द्रका लागि पत्रकार सरोजराज अधिकारीले लेखेका हुन्। यो समाचार धेरै अनलाइन सञ्चार माध्यमले प्रकाशन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.