|

काठमाडौं : झोला व्यापारीको आवरणमा अवैध भिओआईपी कल सेन्टर चलाउने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गरेर काठमाडौंको तीन ठाँउमा कल सेन्टर चलाउने काभ्रे धुलिखेलका केदार अछामी र सिन्धुपाल्चोक चौताराका सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुले लामो समयदेखि बानेश्वर, शंखमुल र पेप्सीकोलामा कोठा भाडामा लिएर बंगलादेशी नागरिकसँग मिलेर कल सेन्टर चलाउदै आएको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। ‘उनीहरुले अवैध रुपमा कल सेन्टर चलाएको गोप्य सूचना पायौं’, उनले भने–‘बुझ्दा हो रहेछ, हामी एकैपटक तीन ठाँउमा छापा हानेर मानिस पनि समायौं।’

कसरी खोले कल वाइपास केन्द्र र कसरी समातिए?

बगलादेशी नागरिकसँग सुमन र केदारको सम्पर्क भयो। बंगलादेशी नागरिककै सहयोगमा उनीहरुले कल वाइपास केन्द्र खोल्ने योजना बनाए। त्यसपछि कोठा खोज्न थाले, उनीहरुले बानेश्वर, शंखमुल र पेप्सीकोलामा कोठा पनि पाए। कल सेन्टर भन्दा पुलिसको आँखाको तारो बन्न सक्ने ठानेर उनीहरुले आफूलाई झोला व्यापारीको रुपमा चिनाए। त्यसका लागि शंखमुलमा सानो झोला पसलसमेत खोले।

तीनवटै ठाँउका घरमालिकलाई उनीहरुले साँझ र विहान बस्नको लागि हो भने घर भाडामा लिएका थिए। भाडामा लिएको घरको दराजमाथि फल्स बटन बनाई कल वाइपासका उपकरणहरु लुकाएर राखेका थिए। उनीहरु साँझ र विहान कल वाइपासको काम गर्दै आइरहेको प्रहरी उपरीक्षक लोहनीले बताए। 

तीन महिनादेखि सञ्चालन भइरहेको प्रहरीले गोप्य सूचना पायो, प्रहरी तीन वटै स्थानमा निगरानी बढायो। अवैध कल सेन्टर नै सञ्चालन भएको पत्ता लागेपछि प्रहरीले एकै समयमा तीन वटै स्थानमा छापा हान्यो। 

छापा हानेर प्रहरीले अवैध केन्द्रमा प्रयोग भइरहेको उपकरण, कागजपत्रलगायतका सामानका साथै संचालकहरुलाई पक्राउ गर्‍यो। उनीहरुलाई दूरसंचार ऐन २०५३ अन्तर्गत कारवाही शुरु भइसकेको छ। 

प्रहरीले उनीहरुबाट छ वटा १६ पोर्टको जिओआइपी गेटवे, तीन वटा ब्याट्री, दुईवटा इन्भर्टर, छ वटा राउटर, दुईटा ल्यापटप, नेपाल टेलिकम र एनसेलका तीन सय १५ वटा सिमकार्ड, विभिन्न व्यक्तिका नागरिकताको फोटोकपी र फोटोहरु बरामद गरेको छ। 

अहिलेसम्म ब्युरोले अवैध भिओआइपी सञ्चालन गर्ने एक सय ३७ जनालाई पक्राउ गरिसकेको छ। विभिन्न ९१ वटा ठाँउमा छापा मारेर एक सय छ जना नेपाली र ३१ जना  विदेशी नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको विरुद्ध ११ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरेर अदालतमा मुद्दा दायर गरिसकेको छ। यसमा एनसेल र नेपाल टेलिकममा भएको क्षतिको बिगो उल्लेख नगरिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। प्रहरीले अहिलेसम्म २२ हजार सिमकार्ड पनि बरामद गरेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.