काठमाडौँ : सरकारले क्यान्सरको उपचारमा प्रयोग गरिने ‘किमो’ (क्यान्सरको उपचारमा प्रयोग गरिने एक किसिमको औषधि) निःशुल्क दिने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालै मात्र अनुदानसहित निःशुल्क वितरण गर्न मस्तिष्कघात औषधि उपलब्ध गराएको अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफलकै सहयोगमा छिट्टै क्यान्सरको उपचारमा प्रयोग हुने ‘किमो’ अनुदानमा दिने भएपछि विरामीलाई निःशुल्क वितरण गर्ने तयारी गरिएको हो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगविरुद्ध प्रयोग हुने महँगो किमो पनि निःशुल्क आउन लागेको र यो पनि डाइरेक्ट रिलिफबाट सहयोग हुने बताए।
स्वास्थ्यमन्त्री पौडेलले भने‚ ‘डाइरेक्ट रिलिफले हामीलाई क्यान्सरको उपचारमा प्रयोग हुने किमो औषधि सहयोग गर्छौँ भनेको छ। अहिले हामीले त्यसको तयारी गरिरहेका छौँ। यसले गर्दा भविष्यमा क्यान्सरको उपचारमा आवश्यक पर्ने किमो पनि निःशुल्क दिन लागिएको हो।’
हाल सरकारले क्यान्सरका विरामीलाई विपन्न नागरिक उपचार सेवाअन्तर्गत एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै विभिन्न प्रदेश सरकार तथा स्थानीय तहहरूले पनि आ-आफ्नो तरिकाले सहयोग गर्दै आएका छन्।
विशिष्टीकृत सेवा आवश्यक पर्ने र लामो समय सम्म उपचार गर्नुपर्ने हुँदा क्यान्सरका विरामीलाई निकै आर्थिक भार पर्ने गर्छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग शाखाका अनुसार नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको छ। नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी क्यान्सरका नयाँ विरामी थपिन्छन्।
नेपालमा ४० प्रतिशतभन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छ तर समयमै पहिचान र प्रभावकारी उपचार गर्ने हो भने क्यान्सर ठिक हुने समेत चिकित्सकले बताउँदै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।