|

काठमाडौँ : पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा वर्षौंदेखि चलिरहेका कार्यक्रमलाई आफूले सुरुवात गरेको भन्दै निर्णय सार्वजनिक गर्न थालेका छन्।

तीमध्ये केही दिनअघि स्वास्थ्यमन्त्री पौडेलको सचिवालयबाट सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेको समाचार आयो।

सचिवालयबाट आएको उक्त समाचार धेरै मिडियामा प्रकाशन पनि भयो। यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय १६ वर्षअघि स्वास्थ्य मन्त्रालयमा भएर चालू भएको बाल स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम हो।

सामाजिक सुरक्षा कार्यक्रमअनुसार सञ्चालन भएको उक्त कार्यक्रम पछिल्लो दुई आर्थिक वर्षमा भने गंगालालमा आर्थिक सुनिश्चितता नहुँदा राम्ररी सञ्चालन भएको छैन। तर वर्षौं स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षाबापत निःशुल्क बालबालिकाको मुटुको उपचार गरिरहेको उक्त केन्द्रमा भने पछिल्लो केही आर्थिक वर्षयता बजेट अभावको कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको छ।

आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को ४८ करोड रकम केन्द्रलाई भुक्तानी समेत नगरेको र चालू आर्थिक वर्षमा पनि आवश्यक रकम केन्द्रलाई समयमा उपलब्ध नगराउँदा अहिले उक्त केन्द्रमा हुँदै आएको बालबालिकाको मुटुरोगको उपचार/शल्यक्रिया सेवा प्रभावित हुन पुगेको छ।

केन्द्रले १५ वर्षमुनिका बालबालिकाको मुटुसँग सम्बन्धित शल्यक्रियालगायतको उपचार निःशुल्क गर्दै आएको थियो। चालू आवमा पनि मन्त्रालयले दिनुपर्ने आर्थिक स्रोत रोकिदा चार महिनादेखि निःशुल्क उपचार रोकिएको छ।

नेपालको मुटुरोगको उपचार गर्ने एक प्रमुख विशिष्टीकृत अस्पताल हृदय रोग केन्द्रमा सबैभन्दा धेरै बालबालिकाको उपचार हुँदै आएको छ।

मन्त्रालयले चालू आवमा जम्मा १२ करोड रुपैयाँ बाल मुटुरोग उपचारको लागि भन्दै केन्द्रलाई दिएको थियो। जसले गर्दा अस्पतालमा विरामीको चापअनुसार धान्नै नसक्ने अवस्थामा पुगेपछि केन्द्रले त्यही १२ करोड रुपैयाँ आंशिक रूपमा विरामीलाई सेवा दिँदै आएको थियो।

जसले गर्दा पहिला शतप्रतिशत निःशुल्क हुनेमा अहिले मुटुको शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई दुई लाख ४० हजार रकम मात्रै छुट केन्द्रले दिएको छ।

१२ करोड रकमलाई पाँच सय व्यक्तिमा भाग लगाउँदा एकजना बालबालिकाको उपचारका लागि दुई लाख ४० हजार मात्र पर्न आउँछ। त्यसैले केन्द्रले अहिले बाल मुटुरोग सेवामा प्रतिविरामी दुई लाख ४० हजार रकम बराबर मात्रै छुट दिँदै आएको केन्द्रले जनाएको छ।

यसअघि बालबालिकालाई निःशुल्क उपचार गरेबापत सरकारसँग लिने रकमको बक्यौता रकम बढ्दै गयो। जसले गर्दा स्वास्थ्य मन्त्रालयले जति रकम दिन्छ त्यो रकम बराबरको मात्रै छुट दिने निर्णय गर्‍यो।

यसै क्रममा केही दिनअघि केन्द्रको सञ्चालक समिति अध्यक्ष समेत रहेका मन्त्री प्रदीप पौडेलले केन्द्रमा प्रभावित उक्त सेवा कसरी सुचारु गर्ने भन्ने छलफल गरे तर स्वास्थ्यमन्त्रीको सचिवालयले भने बल्ल उक्त सेवा स्वास्थ्यमन्त्री पौडेलले सुचारु गरे जसरी सूचना सार्वजनिक गर्‍यो। ‘ उक्त बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने‚ ‘बजेट कमी भएपछि केन्द्रमा बाल मुटुको उपचारमा परेकी प्रभावको बारेमा छलफल भएको थियो र अपुग बजेट माग गर्ने विषयमा छलफल भएको थियो तर पछि मिडियामा त बाल मुटुको निःशुल्क उपचार पहिलोपटक सुरु गर्न लागे जसरी सार्वजनिक गरिएछ। हामी नै अचम्ममा परेका छौँ।’

यता केन्द्रका निर्देशक डा. रवि मल्लले पनि उक्त बैठकमा आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको बताएका छन्।

‘आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय भएको छ’‚ डा. मल्लले भने।

यता शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्षमुनिका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने गरी केन्द्रको सञ्चालक समितिबाट निर्णय गराएको समेत बताएका छन्।

उनले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भनेबमोजिम उक्त निर्णय गरिएको जानकारी दिए। कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने र केही आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए।

डा. बुढाथोकीले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने गरी हृदयरोग केन्द्र सञ्चालक समितिको बैठकमा सहिद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गरिएको छ। बैठकमा स्वास्थ्य पौडेलले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भनेबमोजिम उक्त निर्णय गरिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.