काठमाडौं : २०४७ असोजको कुनै शुक्रबार।
स्वरसम्राट नारायणगोपालले पत्रकार प्रदीप भट्टराईलाई फोन गरेर आफ्नो घरमा बोलाए। आफूले बम्बईमा गाएको एउटा गीतको स्पुल (टेप) लिएर आउनुपर्ने शर्त राखे। ‘हरेक दृष्टिकोणले त्यो गीत मलाई मन पर्छ’, गीतको नाम लिएर फोनमा उनले भने।
नारायणगोपालको आग्रहबमोजिम गीतको स्पुल लिएर भट्टराई भोलिपल्टै महाराजगञ्जस्थित निवास पुगे। साथमा थिइन्, उनकी श्रीमती मीना। औपचारिकता पूरा भयो। भट्टराईले लगेको स्पुलबाट नारायणगोपालले आफ्नो टेपमा सार्न राखिदिए। कपी भइसकेपछि गीत बज्न शुरु हुन्छ।
नारायणगोपाल दुवैजनालाई शान्त हुन संकेत गर्दै बडो ध्यानले सुन्छन्।
‘जतिवेला हामी त्यो गीत सुनिरहेका थियौँ, नारायण दाइ अनायास भावुक देखिन थाल्नुभयो र पुनः त्यो गीत सुनेर मात्र छुट्टिन आग्रह गर्नुभयो’, भट्टराई सम्झन्छन्। (बागीना- नारायणगोपाल स्मृति अंक- २०४९)
भट्टराई दम्पती विदा हुँदै गर्दा नारायणगोपालले भनेका थिए, ‘सायद म यो गीत पिक्चराइज भएको देख्दिनँ होला, तर तुलसीजीलाई भनिदिनू मेरो यो नासो स्वरलाई अन्याय नगरिदिनू’ भट्टराईले लेखेका छन्। उनले दोहोर्याए, ‘उहाँलाई सम्झाइदिनुहोला कि त्यो गीत पिक्चराइज गर्दा त्यसको वेट नघटोस्।’
आफ्नै स्वर सुनेर भावुक बनेको कुन गीत थियो त्यो? स्वरलाई अन्याय नगरिदन आग्रह गरिएका तुलसी को हुन्?
त्यो गीत हो, यो मुटुलाई कसरी सम्झाई बुझाऊँ, पिर यो जिन्दगानीको सहारा एउटै भयो...।
तुलसी अर्थात् तुलसी घिमिरे, नेपाली चलचित्रका निर्देशक। उनैले बनाएको दक्षिणा चलचित्रमा समावेश छ यो गीत। लेखेकी थिइन् कुसुम गजमेरले। संगीत दिए रनजीत गजमेरले। आधुनिक (सुगम) संगीत र तामाङ सेलो ‘मिक्सअप’ गरेर गजमेरले संगीत गरेका थिए।
नारायणगोपालले भट्टराईलाई भेटेर आफ्नो गीत सुन्नु करिब एक वर्षअघि उनी, निर्देशक तुलसी घिमिरे, संगीतकार गजमेरलगायतको टोली बम्बई पुगेको थियो। साथमा नारायणगोपालकी पत्नी पेमला पनि थिइन्। चलचित्र ‘कोसेली’को गीत रेकर्डिङको हुँदै थियो। त्यहाँ लगभग दुई महिना साथै बसेको सम्झिन्छन्, निर्देशक घिमिरे। मुख्य काम थियो ‘कोसेली’को गीत रेकर्डिङको, तर अरु काम पनि गर्ने सोच थियो ।
घिमिरेका अनुसार त्यतिवेला नै उनले चलचित्र दक्षिणाको ‘प्लट’ सोचिसकेका थिए। आदर्शवादी ‘हरिकुमार सर’लाई पात्र बनाएर चलचित्र बनाउने र त्यो गीत उनै हरि सरमाथि छायाङ्कन गर्ने उनको योजना तय भइसकेको थियो। सन्तान कुलतमा लागेको, पत्नीको देहान्त भएको वियोगान्त क्षणमा पात्र ‘फ्ल्यासब्याक’मा फर्किने दृश्य समावेश गर्ने सोचेका थिए। यही कथामा घिमिरेले कुसुमलाई गीत लेख्न लगाएका थिए। त्यो गीत पनि यही बसाइमा गरेर नेपाल फर्किने योजना बनाएका थिए।
‘पछि फेरि नारायणगोपालसँगै बम्बई जान कहिले जुर्ने हो भन्ने सोचले कोसेलीबाहेक अरु केही गीत पनि गर्ने तयारी गरेको थिएँ’, घिमिरे सम्झिन्छन्, त्यही सिलसिलामा यो गीत गाउन लगाएको हुँ।’
बम्बईको वेष्टर्न आउटडोर स्टुडियो।
‘पूर्णरूपमा चिसो आवाज निकाल्नुपर्छ है नारान दाइ’, घिमिरे नारायणगोपाललाई सम्झाउँछन्, ‘टोटल्ली ब्रोकन भ्वइस।’ हात बाँधेर चुपचाप बसेका उनी सोचमग्न हुन्छन्। ‘खै आइसक्रिम मगाउनुस्’, घिमिरेसँग आग्रह गर्छन्। केहीबेरमा आइपुग्छ। बच्चाले जस्तै कपाकप खान्छन्। ‘खाने हो’ भन्दै पेमलालाई जिस्काउँछन्। पेमला अस्वीकृतिको भावमा मुण्टो हल्लाउँछिन्। करिब आधा किलो आइसक्रिम खाइसक्छन्।
गीत गाउन भनेर स्टुडियोमा पुगेको मान्छेले यतिधेरै आइसक्रिम खाइरहेको देखेर रेकर्डिस्ट कराउँछन्, ‘क्या कर रहे हैँ ये आदमी? पागल हैँ क्या? यिनको गाना नही हैँ ?’ के गरिरहेको छ यो मान्छे? पागल हो कि क्या हो? यसलाई गीत गाउनु छैन।)
गाउन तयार भइसक्छन् नारायणगोपाल। एकै सुरमा एकै टेकमा पूरा गर्छन्। तर अन्तिमको स्थायी पंक्ति गाउनै खोज्दा खोक्छन्। अघिको आइसक्रिमको प्रभाव थियो त्यो। ‘भएन फेरि गाउँछु’ नारायणगोपाल भन्छन्। अर्कोपटक गाउँछन्। उनलाई चित्त बुझ्दैन। फेरि गाउँछन्। अझै चित्त बुझाउँदैनन्। तर घिमिरेले भने पहिलोपटकको नै मन पराइसकेका थिए। आफूले खोजेजस्तो पाइसकेका थिए।
‘अब सयपटक प्रयास गरे पनि यहाँभन्दा राम्रो आउँदैन’, रेकर्डिस्टको कुरा सुनेपछि गाइएकामध्येबाट एउटा छान्न खोजिन्छ। पछाडिको खोकी नसुनाउँदा नारायणगोपालले पनि शुरुमा गाएकै गीत मन पराउँछन्। ‘ये खाँसी रखसकते हैँ?’ (गीतमा खोकेको पनि राख्छौ) रेकर्डिस्टले सोध्छ। ‘हाँ’ (हो) घिमिरे जवाफ दिन्छन्।
गीत गाएर उठ्दा नारायणगोपालको आँखामा आँसु देखेका थिए पत्रकार भट्टराईले। होटलमा फर्किएर सोध्दा ‘मेरो आँखाबाट आँसु किन आयो भन्ने थाहा छैन’ भनेको उनले उल्लेख गरेका छन्।
त्यो वेला बम्बईमा करिब दुई महिना सँगै बसेको सम्झिन्छन् निर्देशक घिमिरे। रमाइलो गरिरहन्थे नारायणगोपाल। ‘नेवारी खाना बनाएर ख्वाउँछु भन्नुहुन्थ्यो’, उनी सम्झिन्छन्, ‘बनाइसकेपछि खै यहाँ नेवारी मसला नै पाउँदैन। भनेजस्तो बनाउन सकिएन भन्नुहुन्थ्यो।’
घिमिरेका अनुसार नारायणगोपाल संगीतमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउँथे। यो गीतमा आइसक्रिम खाएर गाउनु पनि एक किसिमको प्रयोग थियो।
काम सकेर फर्किए उनीहरू।
घिमिरेले आफूले बनाएका चलचित्र लाहुरे र चिनोमा पनि नारायणगोपाललाई गाउन लगाएका थिए। ‘उहाँसँग सहकार्यका धेरै कुरा भएका थिए तर पूरा हुन सकेन’, उनी भन्छन्। अहिले आफूले बनाइरहेको ‘पहाड’ को ‘कन्सेप्ट’ त्यतिखेरै बनाएको र नारायणगोपालसँग सल्लाहसमेत भएको दाबी उनी गर्छन्। मैले फिल्म बनाउने संगीत गजमेरले दिने र नारायणगोपालले गाउने सल्लाह भएको थियो’, उनी भन्छन्, ‘नारायणगोपालले गीत गाएपछि आधा त त्यसै हिट भइहाल्यो नि! भनेर हाँसो पनि गरिएको थियो।’
बम्बईबाट फर्किएपछि फिल्मको काममा व्यस्त भए घिमिरे। नारायणगोपालसँग भेटघाट भएन। केही समयपछि पुतलीसडकमा उभिइरहेको देखे। नारायणगोपालले आफू ‘ब्लड टेष्ट’ गराउन आएको बताए। त्यसपछि त्यति भेट भएन। अहिलेजस्तो सञ्चारको सुविधा नभएकााले सम्पर्कमा त्यति रहेनन्।
त्यो गीतप्रति नारायणगोपालको अत्यन्तै मोह र चिन्ता रहेको भट्टराईले जनाएका छन्। चलचित्र कोसेलीकै लागि गाउन लगाएको ठानेका हुन सक्छन् र त्यसमा नराखिएपछि अलि निराश भएका हुन सक्छन्। भट्टराईले पनि पटकपटक त्यो गीत ‘कोसेली’का लागि भनेर रेकर्ड भएको त्यसमा नअटाएका कारण अब कहाँ प्रयोग होला भनेर नारायणगोपाल चिन्तित भएको उल्लेख गरेका छन्। तर घिमिरे भने आफूले दक्षिणाकै लागि भनेर त्यो गीत गाइराख्न लगाएको बताउँछन्।
निर्देशक घिमिरे र पत्रकार तथा लेखक भट्टराई सहकर्मी थिए। त्यसैले घिमिरेको निकट ठानेर त्यो स्पुल झिकाएर कपी गरेको र घिमिरेलाई गीतमाथि अन्याय नगरिदिनू भनिदिन आग्रह गरेका थिए।
एक घण्टाको बसाइमा नारायणगोपालले मृत्युको आभास भएजस्तै कुरा गरेको भट्टराईले उल्लेख गरेका छन्। ‘धेरै गर्न बाँकी भए पनि केही गर्न नसक्ने भएँ’ भन्ने कुरा दोहोर् याइरहेका थिए।
भट्टराईले भेटेको दुई महिना पनि नबित्दै नारायणगोपाल थला परे। पछि एकाएक बिरामी भएर अस्पतालमा रहेको सुनेपछि घिमिरे भेट्न गए। त्यति लोकप्रिय गायकलाई भेट्न आउनेको लर्को थियो। ‘के भएको?’, ‘कैलेदेखि?’ जवाफ दिएरै हैरान। घिमिरेको सुझावबमोजिम यस्तोयस्तो भएको भनेर उनकै आवाजमा रेकर्ड गराउने अनि भट्न आउनेले सोध्दा बजाउने। आफ्नो सुझाव सुनेर नारायणगोपाल हाँसेको घिमिरे बताउँछन्। ‘तर पछि त्यसै गरियो’, उनले भने ‘भेट्न आउनेले सोध्दा त्यही टेप बजाएर सुनाइन्थ्यो।’
२०५० सालतिर बनेको दक्षिणामा यो गीत राखियो, नारायणगोपालको स्वर मात्र नभई खोकी पनि समावेश गरियो। नारायणगोपाललाई देखाउन पाएनन्। चलचित्र बनिसकेपछि श्रीमती पेमलालाई लगेर देखाए। उनी ज्यादै भावुक बनिन्। थाम्नै नसक्ने गरी रोइन्। ‘भाउजुको अवस्थाले त्यो वेला कुरा गर्ने स्थिति समेत रहेन’ घिमिरे भन्छन्, ‘पछि घरमा गयौँ। ज्यादै खुशी हुनुभयो। राम्रो बनाउनुभएछ। दाइको गीतलाई न्याय गर्नुभएछ भनेर भनेर धन्यवाद दिनुभयो।’
नारायणगोपालसँगको सहकार्य सम्झेर घिमिरे अहिले पनि अहिले पनि रोमाञ्चित हुन्छन्। ‘मनैबाट आवाज निकाल्ने’, उनी भन्छन्, ‘नयाँ-नयाँ प्रयोग गरिरहने।’ तर नारायणगोपालसँग पछि गर्न भनी बनाइएका योजना पूरा गर्न नपाएकोमा घिमिरे दुःखी हुन्छन्। अनि सम्झिन्छन् त्यही आवाज,
कस्तो झूठो आशा त्यसै लागिर’न्छ।
विपनाजस्तो त्यो सपना खोजिर’न्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।