काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताए।
“संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुलित अर्थ बुझेमा आफू र आफ्नो इतिहासलाई बुझाउन सहयोग गर्छ”, प्रधानमन्त्री ओलीले भने, “सन्तुलित अर्थ बुझेर आफू र आफ्नो इतिहास बुझाउन पनि सहयोग गर्छ।”
उनले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिए। प्रधानमन्त्री ओलीले भने, “मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ।”
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा २ वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्वीर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराए।
गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्वीरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताए।
उनले देशलाई चिनाउने गरी सीमित स्रोतसाधनका बाबजुद तयार भएको सङ्ग्रहणीय फोटो पुस्तक विदेशी पाहुनालाई उपहारस्वरुप प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै थप प्रति छपाइका लागि अनुरोध गरे।
उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्वीर समावेश छन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुस्तकमा समेटिएका तस्वीर अभिरुचिपूर्वक अवलोकन गरेका थिए।
यसअघि उक्त पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।