|

काठमाडौं  : एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ। गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन्।

गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो। कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन्। ‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं।’

कम्युनिष्टको नेतृत्वमा परिवर्तन र उपलब्धि !  कम्युनिष्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि !’ भन्ने चुनावी नारा घोषणापत्रमा तय गरेका नेताहरूले नेपालको राजनीतिमा परमुखी, बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति देखिएको र चरम सत्तालोलुपता र भ्रष्टाचार बढेको कारण देशलाई त्यस्तो प्रवृत्तिबाट मुक्त बनाउन पनि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन्।

५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रष्ट पारेका छन् ।

कांग्रेसप्रति तिखो आलोचना
गठबन्धनले कांग्रेसको वर्गचरित्र यथास्थितिवादी र भ्रष्टाचारको पर्यायवाचीजस्तै भएको भन्दै खरो आलोचना गरेको छ। कांग्रेसले लोकतन्त्रलाई आफ्नो सुविधाको वस्तु मात्रै ठानेको आरोप पनि गठबन्धनले लगाएको छ। कांग्रेसलाई अन्य कुनै पार्टीसँग चुनावी तालमेल वा एकता गर्न सुझाउँदै गठबन्धनले कांग्रेसले त्यस्तो एकता गरे आफूहरूले स्वाभाविक र सहज रूपमा लिने बताएको छ। ‘हामी चाहन्छौं, कांग्रेसले आफूलाई सम्हालोस्, सच्याओस्, लोकतन्त्रवादी पार्टीका रूपमा क्रियाशील भई लोकतान्त्रिक मूल्य(मान्यताका आधारमा जिम्मेवारपूर्ण ढंगले प्रतिस्पर्धामा सामेल होस्,’ घोषणापत्रमा भनिएको छ।

कुन पार्टी कस्तो ?
कांग्रेस 
यथास्थितिवादी, भ्रष्टाचारको पर्यायवाची । बचेखुचेको उदार समान्तवर्ग र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधि । संविधानको अन्तर्वस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न नसक्ने । कैयौं राष्ट्रघाती सन्धि(सम्झौता गरेका कारण स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न नसक्ने । राष्ट्रिय स्वाधीनताको सवालमा ढुलमुले।

राप्रपा समूह
'प्रतिगामी, दक्षिणपन्थी, निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा सत्ताभोग गर्ने पञ्चहरूको पार्टी। मूलतः अवशेषका रूपमा रहेको सामन्तवर्गको कट्टरपन्थी हिस्साको प्रतिनिधि। गणतन्त्र र संघीयताविरोधी तथा राजतन्त्र र एकात्मक सत्ताको पक्षपाती।

राजपा
राष्ट्रिय आत्मसमर्पणवादी । सामन्तवादका अवशेष र दलाल पुँजीपतिवर्गको प्रतिनिधि। राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषक। गरिब तथा श्रमिकमुखी सामाजिक (आर्थिक रूपान्तरणको विरोधी । राष्ट्रिय स्वाधीनता, राष्ट्रहित एवं राष्ट्रिय एकता कमजोर पार्न सक्रिय।

संघीय समाजवादी
राजपाको प्रवृत्तिभन्दा पृथक् । मधेसलाई मुख्य कर्मथलो बनाउँदै देशका अन्य भागमा पनि संगठित हुने कोसिस गरिरहेको पार्टी । मिल्ने मुद्दामा सहकार्य गर्न सकिने ।
अन्य शक्ति 
ध्रुवीकरण र सहकार्यमा ल्याउनुपर्ने शक्ति। साना कम्युनिष्ट जडसूत्रीय संकीर्णतावादी, आत्मकेन्द्रित गुटबन्दी प्रवृत्तिका। ती प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउन प्रयत्न गर्नुपर्ने शक्ति।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.